काठमाण्डौ ,१९ असार ।
दाङको घोराही उपमहानगरपालिकामा विजयी हुँदै नेकपा एमालेले ठूला नगरमा पनि खाता खोलेको छ ।
दोस्रो चरणको स्थानीय तहको निर्वाचन अन्तरगत पहिलो पटक नतिजा सार्वजनिक भएको दाङको सदरमुकाम रहेको घोराही उपमहानगरमा एमालेका नरुलाल चौधरी निर्वा्चित हुनुभएको छ ।
कांग्रेसका भूपबहादुर डाँगीलाई झण्डै ५ हजार मतले हराउँदै नरुलाल मेयर निर्वा्चित हुनुभएको हो । उहाँले २० हजार ८ मत पाउनुभयो भने ,निकटतम प्रतिद्धन्दी काग्रेसका भुपबहादुर डागीले १५ हजार ७ सय १९ मत पाउनु भयो ।
उपमेयरमा पनि एमालेकै सीता न्यौपाने निर्वा्चित हुनुभएको छ । उहाँले कांग्रेसकै पुष्पा श्रेष्ठलाई पराजित गर्नुभयो ।
अन्तिम परिणामको औपचारिक घोषणा भने हुन बाँकी छ । २०२४ सालमा साविकको रामपुर गाविसमा जन्मिएका चौधरीले अनेरास्ववियुबाट एमालेको राजनीति सुरु गरेका गर्नुभएको हो । १२ वर्षको उमेरदेखि नै एमालेको राजनीतिमा होमिएका चौधरी बीचमा रेडियो नेपालको जागिरे हुनुहुन्थ्यो ।
२०५४ सालमा एमाले जिल्ला कमिटी सदस्य निर्वा्चित भएपछि रेडियो नेपाल छाड्नुभएका उहाँ २०५४ सालमै रामपुर गाविसको अध्यक्ष हुनुभयो । एमाले निकट अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिवसमेत रहेका चौधरी ०६९ सालमा एमाले दाङको अध्यक्ष हुनुभएको थियो ।
जारी मतगणनामा मोरङको विराटनगर महानगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिकामा कांग्रेस अगाडि छ ।
दाङकै तुलसीपुरसहित सुनसरीको धरान र इटहरी, रुपन्देहीको बुटवल उपमहानगरपालिकामा एमाले अगाडि छ भने नेपालगन्ज उपमहानगरमा राप्रपाले अग्रता लिएको छ ।