काठमाडौ १७ असार ।
दोस्रो चरणमा बुधवार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना कार्य जारी छ । अहिलेसम्म ९५ वटा स्थानीय तहको परिणाम प्राप्त भईसेको निर्वाचन आयोगले जनाएको छ ।
पछिल्लो मत परिणाम अनुसार नेकपा एमालेको नै अग्रता देखिएको छ । नेपाली काग्रेस दोस्रो तथा नेकपा माओवदी केन्द्र तेस्रो स्थानमा रहेका छन् ।
हालसम्म प्राप्त मत परिणाम अनुसार एमाले ४९ स्थानमा विजयी हुँदै अग्रस्थानमा देखिएको छ । त्यस्तै कांग्रेस ३८ स्थानमा जितेर दोस्रोमा छ भने माओवादी केन्द्र १६ स्थानीय तहमा विजयी भएको छ ।
संघीय समाजवादी फोरम नेपाल एक, राष्ट्रिय जनमोर्चा १ र अन्य पार्टीले १ स्थान जितेका छन् । थोरै मतदाता भएका गाउँपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । सार्वजनिक मतपरिणाममध्ये अधिकांश गाउँपालिकाको हो ।
प्रदेश नम्बर १ मा मत गणना भइरहेका मध्ये ४६ स्थानमा नेपाली कांग्रेस अघि छ । ४२ स्थानमा एमालेको अग्रता छ भने ५ स्थानमा माओवादी केन्द्र अघि देखिएको छ । यस्तै ३ स्थानमा अन्य दल अघि छ भने राप्रपा १ स्थानमा अग्रता लिएको छ ।
प्रदेश नम्बर ५ मा भने नेकपा एमालेको पकड देखिएको छ । एमाले ३० स्थानमा अग्रस्थानमा रहँदा नेपाली कांग्रेस २२ स्थानमा अघि देखिएको छ । माओवादी केन्द्रले १२ स्थानमा अग्रता लिएको छ । यस्तै राप्रपाले २ स्थानमा अग्रता लिँदा ११ स्थानमा अन्य दल अघि देखिएको छ ।
प्रदेश नम्बर सातमा नेपाली कांग्रेसको अग्रता छ । मतगणना जारी रहेकामध्ये १८ स्थानमा कांग्रेस अघि छ भने एमालेले १५ स्थानमा अग्रता लिएको छ । ११ स्थानमा माओवादी केन्द्रको अग्रता छ । २ स्थानमा अन्य दलको अग्रता छ भने १ स्थानमा राप्रपा अघि देखिएको छ ।