डडेल्धुरा ,१६ असार ।
प्रधानमन्त्री शेरबहादुर देउवाको गृहनगर रहेको डडेल्धुराको अमरगढी नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । दोस्रो चरणमा चुनाव भएका १११ नगरपालिकामध्ये कांग्रेसको गढ मानिएको अमरगढी नगरपालिकाबाट एमालेले विजयी शुरुवात गरेको छ ।
मेयरमा एमालेका विश्वेश्वरप्रसाद ओझा र उपमेयरमा एमालेकै संगीता भण्डारी विजयी हुनु भएको छ ।
मेयर उम्मेदवार एमाले ओझाले ३६ सय ४० मत ल्याउनु भएको छ ,उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका डिल्लीराज जोशीले तीन हजार ६४० मत प्राप्त गर्नुभयो ।
उपप्रमुखमा एमालेकी सङ्गीता भण्डारी गिरी तीन हजार ५०८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी पार्वती झुकालले तीन हजार २०८ मत प्राप्त गर्नुभयो । प्रमुखमा विजयी ओझा डडेल्धुरा क्याम्पसका पूर्व स्ववियु उपसभापति तथा उपप्रमुखमा विजयी भण्डारी नेपाल पत्रकार महासङ्घ, डडेल्धुरा शाखाकी सदस्य हुनुहुन्थ्यो ।
मुख्य निर्वाचन अधिकृत देवकुमार गिरीका अनुसार उक्त नगरपालिकाको ११ वडा मध्ये ६ वटामा जित हासिल गरेको छ । पाँचवटामा काँगे्रस विजयी भएको छ । एमाले अमरगढी– ४, ५, ७, ९, १० र ११ मा तथा काँग्रेस १, २, ३, ६ र ८ मा विजयी भएको छ ।