विराटनगर, ८ असार ।
गृहमन्त्री जनार्दन शर्माले निर्वाचनलाई शान्तिपूर्ण ढङ्गले भयरहित वातावरणमा मतदातालाई मतदान गराउने दायित्व सरकारको रहेको बताउनु भएको छ ।
विराटनगर प्रदेश नं १को क्षेत्रीय सुरक्षा गोष्ठीमा सम्बोधन गर्दै उहाँले संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचनको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो ।
गृहमन्त्री शर्माले अब मुलुकमा सङ्घीय प्रशासनिक ढाँचा निर्माण गर्नुपर्ने र विभिन्न प्रकारका ऐन कानुन निर्माण र कानुनको संशोधनको प्रक्रियालाई सरकारले अगाडि बढाएको जानकारी जानकारी दिनुभयो ।
स्थानीय तहको निर्वाचनपछि जनताको अधिकार स्थापित हुने, राजनीतिक समस्याको समाधान हुने र मुलुक समृद्धिको बाटोमा अगाडि बढ्ने उल्लेख गर्दै उहाँले मुलुकमा राजनीतिक स्थिरता कायम हुने विश्वास ब्यक्त गर्नुभयो ।
स्थानीय तहको निर्वाचन, २०७४ लाई मध्यनजर गरी शान्ति सुरक्षाको वस्तुस्थितिबारे सुरक्षा निकायले अपनाएका नीतिको सम्बन्धमा छलफल गर्न आयोजित गोष्ठीमा प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरीका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, नेपाली सेनाका बलाधिकृत रथी बलदेवराज महत, मुख्य अनुसन्धान निर्देशक दिलेन्द्रराज रेग्मी र पूर्वाञ्चलका क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहको उपस्थिति रहेको थियो ।
यसका साथै, प्रदेश नं १ का १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकलगायत सुरक्षा निकायका पदाधिकारीको पनि सहभागिता रहेको छ ।