घोराही ,असार४।
नेकपा माओवादी केन्द्र दाङले उम्मेदवारी दर्ताको दिन पारेर आज जिल्लाका दशवटै स्थानीय तहमा चुनावी सभा गर्ने भएको छ । सभाहरुलाई केन्द्रीय नेताले सम्वोधन गर्ने जिल्ला निर्वाचन परिचालन समिति संयोजक निर्मल आचार्यले जानकारी दिनुभयो ।
जसअनुसार घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिमा हुने सभालाई बरिष्ठ नेता कृष्णबहादुर महराले सम्वोधन गर्ने कार्यक्रम छ । घोराहीको गुलरिया पार्कमा सभा आयोजना गरिएको बताइएको छ ।
सभाअघि बालमन्दिरबाट जुलुस शुरु गरी बजार परिक्रमा गरी गुलरिया पार्कमा पुगेर सभा गर्ने कार्यक्रम तय गरिएको बताइएको छ ।
यसैगरी राप्ती गाउँपलिकाको भालुवाङमा हुने सभालाई केन्द्रीय कार्यालय सदस्य नारायण शर्मा पौडेल, केन्द्रीय सचिवालय सदस्य यसोदा सुवेदी, दामा शर्मा र केन्द्रीय सदस्य लुमबहादुर कार्कीले सम्बोधन गर्ने कार्यक्रम छ ।
गढवा गाउँपालिकाको गढवामा हुने सभालाई पोलिटब्यूरो सदस्यद्वय निर्मल आचार्य र नारायणी शर्मा, राजपुरको गंगदीमा हुने सभालाई निर्मल आचार्य र लीला शर्मा तथा लमहीमा हुर्ने यालीपछिको कोणसभालाई पोलिटब्यूरो सदस्य इन्द्रजीत चौधरीले सम्वोधन गर्ने कार्यक्रम छ ।
बंगलाचुलीको कमिरेचौरमा हुने सभालाई केन्द्रीय सदस्य सुवास पुनसहितले सम्वोधन गर्नुहुने छ । दंगीशरणको हेकुली, शान्तिनगरको चिराघाट र बबइ हंशपुरमा हुने सभालाई केन्द्रीय सचिवालय सदस्य रेखा शर्मा र कुवेरबहादुर ओलीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको माओवादी केन्द्र दाङले जनाएको छ ।