काठमाडौ ,असार ।
अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलको तयारीका रुपमा लिइएको फिफा कन्फेडेरेशन कप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगितालाई विश्वकपका दाबेदार बिचको प्रतिस्पर्धाको रुपमा लिने गरिएको छ ।
प्रतियोगितामा आयोजक रुससहित विश्वविजेता जर्मनी, युरोकप विजेता पोर्चुगल, ओसेनिया क्षेत्रको च्याम्पियन न्युजिल्याण्ड तथा एसियाली च्याम्पियन अस्ट्रेलियाको सहभागिता रहनेछ ।
यस्तै दक्षिण अमेरिकी च्याम्पियन चिली, मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रको च्याम्पियन मेक्सिको र अफ्रिकन च्याम्पियन क्यामरुनले पनि प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।
दुई समूहमा विभाजन प्रतियोगिताको समूह ‘ए’ मा आयोजक रुससँगै न्युजिल्याण्ड, पोर्चुगल र मेक्सिको छन् भने समूह ‘बी’ मा क्यामरुन, चिली, अस्ट्रेलिया र जर्मनी छन् ।
हरेक समूहको शीर्ष दुईमा रहने टोली सेमिफाइनल प्रवेश गर्नेछन् । गएको वर्षको युरोकप फुटबल उपाधि विजेता पोर्चुगललाई प्रतियोगिताको बलियो दाबेदार मानिएको छ । पोर्चुगलले आफ्नो पहिलो खेलमा भोली मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ ।
फाइनल खेल आगामी जुलाई २ मा हुनेछ । यसअघि सन् २०१३ मा भएको कनफेडेरेसन कप फुटबलको उपाधि घरेलु टोली ब्राजिलले जितेको थियो ।