काठमाडौँ, २ असार ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश नम्बर २ को चुनाव सार्ने सरकारी निर्णय एकतर्फी रुपमा आएको भन्दै त्यसलाई मान्यता नदिने निर्णय गरेको छ । उसले आन्दोलनका कार्यक्रम जारी राख्ने पनि निर्णय गरेको छ ।
स्थानीय तह दोस्रो चरणको निर्वाचनमा सहभागी हुने बिश्वासका साथ सरकारले मनोनयन दर्ता प्रक्रिया दुई दिन पछि सारेपनि राष्ट्रिय जनता पार्टी नेपालले असार १४ गतेको चुनावमा सहभागी नहुने निर्णय गरेको हो ।
राजपासँगको लामो छलफलपछि दुई नम्बर प्रदेशको निर्वाचन असोज २ गतेलाई सारेपनि राजपाले निर्वाचन आफुहरुको सरोकारको बिषय नभएको बताएको छ । सरकारले एउटा प्रदेशको मात्र निर्वाचन सारेर जनस्तरमै बिभाजन ल्याउन खोजेको उसको आरोप छ ।
शुक्रबार राजधानीमा बसेको राजपा बैठकले निर्णयमा भनेको छ, ‘राजपा नेतृत्वको संघीय गठबन्धनको माग सम्बोधन नभएसम्म निर्वाचनमा भाग नलिने अडान यथावत् रहेको छ र सरकारले राजपा, गठबन्धनसग गरेको सम्झौताविपरीत एकतर्फी निर्णय गर्दै निर्वाचन घोषणा गरेकाले त्यसलाई अमान्य ठहर गर्दै आन्दोलनका कार्यक्रम निरन्तरता दिने निर्णय गरेको छ ।’
राजपाले असार १४ सम्मका पुर्वघोषित आन्दोलन कार्यक्रम यथावत् रहने पनि अध्यक्ष महन्थ ठाकुरले जारी गरेको वक्तव्यमा भनिएको छ ।
अध्यक्ष मण्डलको बैठकले यथास्थितिमा निर्वाचनमा सहभागी नहुने निर्णय गरेको हो । षडयन्त्र पुर्वक ढङ्गले सरकारले तराईलाई खण्डीत गर्न खोजेको आरोप लगाउदै आफुहरुका माग सम्वोधन नभएसम्म कुनै पनि निर्वाचनमा सहभागी नहुने निर्णय गरेको अध्यक्ष मण्डलका नेता राजकिशोर यादवले जानकारी दिनुभयो ।
राजपाको परिमार्जित कार्यक्रमअनुसार, भोली तराइका जिल्लामा लाठी जुलुस प्रदर्शन गर्ने र मनोनयन दर्ता गर्ने दिन पर्सी आइतवार मेचीदेखि महाकालीसम्मका तराईका जिल्लामा बन्द आह्वान गरिएको छ ।
