काठमाडौं, असार १ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार र राष्ट्रिय जनता पार्टीबीच भएको प्रदेश नम्बर २ को चुनाव सार्ने सहमतिले मुलुकमा विभाजनको मानसिकता तयार गर्ने गम्भीर अपराध गरेको दावी गरेको छ ।
प्रचार बिभागको तर्फबाट सचिव योगेश भट्टराईले जारी गरेको बिज्ञप्तिमा उक्त सहमतिले राष्ट्रिय एकतालाई कमजोर बनाउनुका साथै विखण्डकारी तत्वहरुको मनोबल बढाएको समेत उल्लेख गरेको छ ।
‘प्रदेश नम्बर २ मा निर्वाचन पछि सार्ने कदमले त्यहाँका जनताको आफ्ना प्रतिनिधि आफैँ छानेर स्थानीय सरकारको अभ्यास गर्ने अधिकार मात्र कुण्ठित गरेको छैन, संविधान कार्यान्वयनमा गम्भीर धक्का पुर्याएको छ’ बिज्ञप्तिमा भनिएको छ, ‘यस घटनाले मुलुकको राष्ट्रिय एकतालाई कमजोर बनाउनुका साथै विखण्डकारी तत्वहरुको मनोबल बढाएको छ । कुनै ठोस कारण र औचित्यबिना निर्वाचन पर सारेर वर्तमान सत्तारुढ गठबन्धनले मुलुकमा विभाजनको मानसिकता तयार गर्ने गम्भीर अपराध गरेको छ ।’
असार १४ गतेका लागि प्रदेश नम्बर १, २, ५ र ७ मा निर्धारिण गरिएकोमा राजपाले आन्दोलनको घोषणा गरेपछि बिहीबार बसेको सत्ता गठबन्धन र राजपाबीचको बैठकले २ नम्बर प्रदेशको निर्वाचन सार्ने सहमति गरेको हो । सरकारले निर्वाचन आयोगसंगको छलफलपछि तेस्रो चरणको चुनावको मिति तोय गर्ने जनाएको छ ।