काठमाडौं ,१ असार ।
आगामी असार १४ गतेका लागि तोकिएको स्थानीय तह अन्तरगत दोस्रो चरणको निर्वाचन दुई नम्बर प्रदेशमा स्थगित भएको छ ।
प्रमुख राजनीतिक दलको बैठकले दुई नम्बर प्रदेशको निर्वाचनलाई तेस्रो चरणमा गर्ने निर्णय गरेको हो ।
सिंहदरवारमाआज दिउँसो बसेको प्रधानमन्त्री शेरबहादुर देउवासहित काँग्रेस,एमाले र माओवादी केन्द्रका नेताहरुले दुई नम्बर प्रदेशमा आन्दोलन भईरहेको आन्दोलनका कारण हुन सक्ने हिंसात्मक गतिबिधिलाई ध्यानमा राखेर निर्वाचन सर्ने निर्णय गरेका हुन ।
तराई मधेशकेन्द्रित राष्ट्रिय जनता पार्टीलाई समेत सहभागी गराईको बैठकले दुई नम्बर प्रदेशको निर्वाचनलाई तेस्रो चरणमा गर्ने निर्णय गरेको बैठकमा सहभागी गृहमन्त्री जनाद्र्धन शर्माले जानकारी दिनुभयो ।
निर्वाचन बिथोल्ने गरी राजपाले हिंसात्मक संघर्ष गर्न थालेपछि उम्मेदवार मनोनयन गर्ने अघिल्लो दिन आज दुई नम्बर प्रदेशको निर्वाचन सार्ने निर्णय गरिएको छ ।
गृहमन्त्री शर्माका अनुसार दुई नम्बर प्रदेश बाहेक अन्य प्रदेशको निर्वाचन असार १४ गते नै हुनेछ । ‘दुई नम्बर प्रदेशको निर्वाचन कहिले गर्ने भन्ने मिति तोकिएको छैन ।’
दुई नम्बर प्रदेशको निर्वाचन सार्ने राजनीतिक दलहरुको निर्णयका बारेमा सरकार र निर्वाचन आयोग वीच अपरान्ह ३ बजे बैठक हुँदैछ ।
दुई नम्बर प्रदेश बाहेक एक,पाँच र सात नम्बर प्रदेशमा असार १४ गते नै निर्वाचन हुने बैठकबाट बाहिरिने क्रममा नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।