काठमाडौ ,१ असार ।
स्थानीय तह निर्वाचन बहिस्कार गर्दै आन्दोलनमा उत्रिएको राजपालाई निर्वाचनमा सहभागी गराउने प्रयास स्वरुप प्रमुख दलले आज पनि छलफल गर्दैछ ।
केहिवेर पछि सिंहदरबारमा बस्ने बैठकमा प्रमुख दल कांग्रेस, माओवादी केन्द्रका साथै प्रतिपक्षी एमाले र राजपाका शिर्ष नेताहरुको सहभागिता रहनेछ ।
बैठकमा आगामी असार १४ मा हुने दोस्रो चरणको स्थानीय निर्वाचनमा राजपालाई पनि सहभागी गराउने विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
संविधान संशोधन बिना कुनै पनि निर्वाचनमा सहभागी नहुने घोषणा गरेको राजपाले स्थानीय निर्वाचन बिथोल्ने गरी विभिन्न चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
यसअघि हिजो भएको छलफलमा मुख्य तीन दलले निर्वाचनपछि संविधान संशोधन प्रक्रिया अघि बढ्ने भन्दै स्थानीय निर्वाचनमा सहभागी हुन राजपालाई आग्रह गरेका थिए ।
तर राजपाले असार १४ को निर्वाचनलाई सार्नुपर्ने प्रस्ताव पुनः दोहोर्याएपछि सहमति जुट्न सकेन । राजपाले निर्वाचनमा आउने लिखित प्रतिद्धता जनाए सत्तारुढ दलले उमेदवार मनोनयन मिति सार्ने बताएका छन् ।
यद्यपी स्थानीय तहको संख्य थप र संविधान संशोधनको विषयमा राजपाका अडान कायमै रहेकाले सहमति हुने सम्भावना भने न्युन देखिएको छ ।