काठमाण्डौ, जेठ ३१ ।
इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन आउँदो अगस्ट १२ (साउन २८) देखि सुरु हुने भएको छ । प्रिमियर लिग २०१७–१८ सिजनको खेल तालिका बुधबार सार्वजनिक भएको छ ।
सिजनको पहिलो खेलमा यो सिजनको विजेता चेल्सीले घरेलु मैदानमा बर्नलीसँग खेल्ने छ । यो सिजन बढुवा भएर प्रिमियर लिगमा आएको न्युक्यासलले पहिलो खेलमा टोटनह्याम, ब्राइटनले म्यानचेस्टर सिटी तथा हडर्स्फिल्डले क्रिष्टल प्यालेससँग खेल्ने छन् ।
सिजनको अन्तिम खेल सन् २०१८ को मे १३ मा हुने तय भएको छ । यो सिजन न्युक्यासल, ब्राइटन तथा हडर्स्फिल्ड बढुवा भएर प्रिमियर लिगमा आएका हुन् ।
यस्तै चेल्सी, टोटनह्याम, म्यानचेस्टर सिटी, लिभरपुल, आर्सनल, म्यानचेस्टर युनाइटेड, क्रिष्टल प्यालेस, बर्नली, बोर्नमाउथ, एभर्टन, लेस्टर सिटी, साउथह्यामप्टन, स्टोक सिटी, स्वान्सी सिटी, वाट्फोर्ड, वेष्ट ह्याम र वेष्ट ब्रोम पुराना टिम हुन् ।
यो सिजन हल सिटी, मिडल्सबर्ग र सन्डरल्याण्ड रेलिगेशनमा परेर म्याम्पियनसिपमा घटुवा भएका छन् ।