काठमाण्डौ ,३१ जेठ ।
गृहमन्त्री जनार्दन शर्माले कुनैपनि शक्तिले निर्वाचन बहिष्कार गर्न पाउने भएकाले त्यसबाट आक्तिनु नपर्ने प्रतिक्रिया दिनुभएको छ ।
मन्त्री शर्माले निर्वाचन बहिस्कार गर्ने उनीहरुको अधिकार भएपनि जनताको मताधिकार खोस्न खोजेमा भने सरकार चुप लागेर बस्न नसक्ने चेतावनी दिनुभयो ।
बुधवार एक सन्चारमाध्यमसँगको कुराकानीमा उहाँले निर्वाचन बहिस्कार गर्दैमा सुरक्षा संबेदनसिलतालाई लिएर डराउनु नपर्ने बताउनु भयो ।
असार १४ गतेका लागि तय स्थानिय तहको दोस्रो चरणको निर्वाचन कुनै हालतमा नसर्ने भन्दै निर्वाचन आयोगको कार्यतालिका अनुसार पर्सी उम्मेद्धवारी मनोनयनका लागि सबै व्यवस्था मिलाइसकेको बताउनु भयो ।
मन्त्री शर्माले सुरक्षा व्यवस्थालाई लिएर आशंका नगर्न आग्रह गर्दै भन्नुभयो , अब निर्वाचन सर्दैन । सबै सुरक्षा व्यबस्था मिलाइसकिएको छ ।
मंगलवार भएको दलिय छलफलमा प्रधानमन्त्री शेरवहादुर देउवाले निर्वाचन सार्न प्रस्ताव नगरेको भन्दै उहाँले अन्तिमसम्म राष्ट्रिय जनता पार्टीसंग सहमतिको प्रयास गर्ने तयारी भएको जनाउनुभयो ।
गृहमन्त्री शर्माले तराई मधेसको खुल्ला सिमा प्रयोग गरेर निर्वाचन बिरोधी गतिविधि हुन सक्नेतर्फ सचेत रहेको उल्लेख गर्नुभयो । त्यसका लागि सिमा क्षेत्रका सुरक्षा अधिकारीले भारतका सुरक्षा निकायसंग संवाद गरिरहेको जानकारी दिनुभयो ।