काठमाडौ २८ जेठ ।
राष्ट्रिय जनता पार्टी नेता राजेन्द्र महतोले सरकारले निर्वाचनको मिति केही दिन पछि सारेर भएपनि मधेसी दललाई स्थानीय निर्वाचनमा आउने वातावरण तयार गर्नुपर्ने बताउनु भएको छ ।
महतोले संविधान संशोधनको माग सम्बोधन नगरी निर्वाचनमा गए मुलुक दुर्घटनामा पर्ने चेतावनी समेत दिनुभयो । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सरकार संविधान संशोधन बिना निर्वाचनमा गए त्यसको नतिजा राम्रो नआउने बताउनु भयो ।
महतोले अघिल्लो पटक देउवा प्रधानमन्त्री भएका बेला जनताको तर्फवाट पेश भएका मागलाई सम्बोधन गर्न नसक्दा मुलुक द्वन्द्वमा फसेको स्मरण गराउँदै त्यसबाट पाठ सिकेर देउवाले मधेस समस्या समाधान गर्नुपर्ने बताउनु भयो ।
निर्वाचनमा सहभागी हुनका लागि मधेस आन्दोलका क्रममा लगाइएका मुद्दा फिर्ता, जनसंख्याको आधारमा गाउँपालिका, नगरपालिका संख्या थप राजपाको बटमलाइन भएको उहाँले प्रष्ट पार्नुभयो ।