काठमाडौं, जेठ २७ ।
एसियन कप छनोट फुटबलअन्तर्गत नेपाल र यमनबीच आगामी मंगलबार हुने खेलका लागी आजबाट अनलाइन टिकट बिक्री खुल्ला भएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाले काठमाडौंको हल्चोकस्थित एपीएफ मुख्यालयको मैदानमा हुने खेलका लागी ई–सेवामार्फत एक हजार रुपैयाँका दरका सात सय टिकट बिक्री गर्ने जनाएको छ ।
सिमित क्षमता र सुरक्षाका दृष्टिाले जम्मा सात सय टिकट मात्र बिक्री गर्न लागिएको एन्फाको भनाइ छ ।
भूकम्पका कारण क्षतिग्रस्त दशरथ रंगशालाको अझै पुनर्निर्माण हुन नसक्दा एन्फाले हल्चोकमा खेल गराउन लागेको हो ।
एसिया कप छनोटअन्तर्गतको पहिलो खेलमा नेपालले फिलिपिन्समा घरेलु टोलीसँग ४ – ० को पराजय बेहोरेको थियो ।
प्रतियोगिताअन्तर्गत यमनबिरुद्ध हुने दोस्रो खेलको तयारीमा रहेको नेपालले केही दिनअघी मुम्बईमा भएको मैत्रिपूर्ण खेलमा भारतलाई २ – ० ले नतिजा सुम्पिएको थियो ।