काठमाडौ २७ जेठ ।
बंगलादेशसँग पराजित भएसँगै न्यूजिल्याण्ड च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । गएराति सम्पन्न खेलमा बंगलादेशले न्यूजिल्याण्डलाई ५ विकेटले पराजित गरेको हो ।
न्युजिल्याण्डले दिएको २ सय ६६ रनको लक्ष्य बंगलादेशले १६ बल बाँकी छँदै ५ विकेट गुमाएर पूरा गर्यो । न्यूजिल्याण्डका लागि रोस टेलरले सर्वाधिक ६३ रनको योगदान गरेका थिए ।
त्यसैगरी काने विलियम्सनले ५७, नेल ब्रुमले ३६, मार्टिन गुप्टिलले ३३ रन बनाए । बंगलादेशका लागि मोसाद्देक हुसैनले तीन विकेट लिए भने टस्किन अहमदले दुई विकेट लिए । मुस्तफिजुर रहमान र रुबेल हुसैनले समान एक एक विकेट लिए ।
ब्याटिङतर्फ सुरु मै धर्मराएको बंगलादेशका लागि मध्यक्रमका ब्याट्सम्यानले टिमलाई सम्हालेका मात्र नभई जित नै दिलाए । ३३ रनको अवस्थामा बंगलादेशले ४ विकेट गुमाइसकेको थियो ।
तर पाँचौं विकेटका लागि २२७ रनको साझेदारी गर्दै बंगलादेशका शकिब अल हसन र महमदुल्लाहले जित दिलाए । हसनले ११४ र महमदुल्लाहले १०२ रन बनाए । यी दुबैबीचको कीर्तिमानी साझेदारीले बंगलादेश विजयी भएको हो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६५ रनको योगफल बनाएको थियो । न्युजिल्याण्डका रोश टेलरले ६३ र केन विलियम्सनले ५७ रनको योगदानी दिए ।
जीतसँगै बंगलादेशको अघिल्लो चरण पुग्ने सम्भावना कायमै छ । प्रतियोगिता अन्तरगत आज समुह ए मै रहेको अष्ट्रेलिया र इंग्ल्याण्डबीच प्रतिस्पर्धा हुदैछ ।