सोलुखुम्बु ,२६ जेठ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दोस्रो चरणको निर्वाचनमा पार्टीलाई जिताउनका लागि प्रधानमन्त्रीबाट राजिनामा दिएर आफू मैदानमा आएको बताउनु भएको छ ।
सोलुखुम्बुको सोताङमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पहिलो चरणको निर्वाचनमा आफु प्रधानमन्त्री भएकाले पर्याप्त समय दिन नसकेपछि पार्टी तेस्रो स्थानमा सीमित भएको दावी गर्नुभयो ।
उहाँले भन्नुभयो, मैले त हाम्रो पार्टीले कति ठाउँमा जित्यो भन्ने नै थाहा पाएको थिइन । प्रधानमन्त्री पद छोडेर बुझ्दाखेरी ४६ ठाउँमा प्रमुख र ५२ ठाउँमा दोस्रो भएका रहेछौ’ ।
प्रधानमन्त्री छोडेर आफु चुनावी मैदानमा आइसकेको भन्दै दाहालले अब निर्वानचमा माओवादीको जित निश्चित भएको दावी गर्नुभयो ।
अध्यक्ष दाहालले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी जुनसुकै स्थान हासिल गरेपनि प्रदेश र केन्द्रको चुनावमा माओवादी केन्द्रलाई एक नम्बरको पार्टी बनाउने दावी गर्नुभयो ।
एमाले र कांग्रेसले स्थानीय तहको चुनाव नचाहेको र पुरानै संरचनामा चुनाव गराउन चाहेको भन्दै अध्यक्ष दाहालले सिस्टम बसोस्, देशले जितोस’ भनेर चुनावको वातावरण मिलाएको दावी समेत गर्नुभयो ।