काठमाडौँ, २५ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले तीनवटा निर्वाचन आफ्नो सरकारको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ ।
नेपाल विद्यार्थी सङ्घले आज पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रम’मा प्रधानमन्त्री देउवाले दोस्रो चरणको निर्वाचनमा लाग्न सबैलाई आग्रह गर्नुभयो ।
नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसलाई जिताउनुपर्ने भन्दै निर्वाचनमा लाग्न नेता, कार्यकर्ता तथा विद्यार्थीलाई निर्देशन दिनुभयो ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आधिकारिक उम्मेदवारलाई भोट हाल्नका लागि विद्यार्थीले जिल्ला जिल्लामा गएर जनचेतना फैलाउनु जरुरी रहेको बताउनुभयो ।
वरिष्ठ नेता पौडेलले स्थानीय तहको निर्वाचन र अरु निर्वाचनमा पार्टी्भित्र हुने अन्तर्घात रोक्न युवा विद्यार्थीको ठूलो भूमिका रहेको उल्लेख गर्नुभयो ।
नेविसङ्घका अध्यक्ष नैनसिंह महरले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा काँग्रेसले सोचेजस्तो परिणाम ल्याउन नसकेको भन्दै काँग्रेसलाई जिताउन नेविसङ्घले यस्तो कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।