काठमाडौँ, २४ जेठ ।
नवनिर्वा्चित प्रधानमन्त्री शेरबहादुर देउवाले आज पद तथा गोपनियताको सपथ लिनुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा दिउँसो दुई बजे आयोजित कार्यक्रममा देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिुनभएको हो । नवनिर्वा्चित प्रधानमन्त्री देउवाले ईश्वर, देश र जनताको नाममा शपथ लिनुभयो ।
पद तथा गोपनियताको सपथ लिएसँगै देउवाले ८ सदस्यीय मन्त्रीमण्डल गठन गर्नुभएको छ । पहिलो चरणमा गठिन मन्त्रीमण्डलमा तीन जनालाई उपप्रधानमन्त्री बनाइएको छ ।
नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारलाई उपप्रधान सहित संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई उपप्रधान सहित परराष्ट्र र कांग्रेस नेता गोपालमान श्रेष्ठलाई उपप्रधान सहित शिक्षा मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
यस्तै ज्ञानेन्द्रबहादुर कार्कीलाई अर्थ मन्त्री, फरमुल्लाह मन्सुरलाई श्रम तथा रोजगार, जनार्दन शर्मालाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
प्रभु साहलाई भने विना विभागीय मन्त्री बनाईएको छ । देउवाले पहिलो चरणमा कंग्रेस र माओवादी केन्द्रबाट तीनरतीन र नेपाल लोकतान्त्रिक फोरमबाट एक जनालाई लिएर मन्त्रीमण्डल गठन गर्नुभएको हो ।
देउवाको नेतृत्वमा गठित ८ सदस्यीय मन्त्रीमण्डलमा महिला भने एक जना पनि समावेश छैनन् ।
यस्तै, राष्ट्रपति भण्डारीले आजै तीन उपप्रधानमन्त्री तथा मन्त्रीलाई पनि पद तथा गोपनीयताको शपथ गराउनुभयो । नवनियुक्त उपप्रधान तथा मन्त्रीहरुलाई नेपालको संविधान २०७३ अनुसार राष्ट्रपति भण्डारीले गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्तीमगर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायत उच्च पदस्थ व्यक्तित्वको उपस्थिति रहेको थियो ।
शपथ ग्रहणपछि उपस्थित विशिष्ट व्यक्तिहरुले प्रधानमन्त्री देउवालाई बधाई दिएका थिए ।
यसैबीच , देउवाले आजै प्रधानमन्त्रीका रुपमा कार्यभार सम्हाल्नुहुनेछ । उहाँले लैनचौरस्थित शहिद स्मृति पार्कमा माल्यार्पण गरेर आजै सिंहदरवार स्थित प्रधानमन्त्री कार्यालयमा पदवहाली गर्ने कार्यक्रम तय भएको छ ।
कंग्रेस सभापति शेरबहादुर देउवा मुलुकको ४० औं प्रधानमन्त्रीमा हिजो निर्वा्चित हुनु भएको थियो ।
देउवालाई माओवादी केन्द्र, राप्रपा, राजपा, लोकतान्त्रिक फोरम, संघिय समाजवादी फोरम लगायतका दलले समर्थन गरेका छन् । हिजो संसदमा भएको निर्वाचनमा प्रधानमन्त्री निर्वा्चित हुने क्रममा देउवाले झण्डै दुइतिहाइ मत प्राप्त गर्नुभएको थियो ।