काठमाण्डौ ,२४ जेठ ।
नेपाली काग्रेस भित्र मन्त्री पठाउने बिषयलाई लिएर किचलो सुरु भएको छ । नवनिर्वा्चित प्रधानमन्त्री शेरबहादुर देउवाले शपथग्रहण नगर्दै मन्त्री पठाउने विषयलाई लिएर पार्टी्भित्र बिबाद सुरु भएको हो ।
देउवाले मन्त्री बनाउँदा मापदण्ड नबनाई एकलौटिढंगले अघि बढ्न लागेको भन्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असुन्तुष्टि जनाएको छ ।
अनामनगरस्थित सम्पर्क कार्यालयमा आज बसेको पौडेल पक्षको बैठकले आफूहरुले कति मन्त्रालय पाउने भन्नेबारे एकीन नभई मन्त्रीमण्डलमा कसैलाई पनि नपठाउने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताएका छन् ।
आज गठन हुने मन्त्रीपरिषद्मा पौडेलपक्षले कसैलाई नपठाउने भएपछि देउवाले पूर्वकेन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्कीलाई मात्रै सरकारमा लैजाने हुनुभएको छ ।
यसअघि उहाँले केन्द्रीय सदस्य महेश आचार्य र फरमुल्लाह मन्सुरलाई पनि लैजाने तयारी गर्नुभएको थियो ।
देउवाले मन्त्रिपरिषद्मा कुन मापदण्डमा आधारमा मन्त्री लैजाने भन्नेबारे पार्टीभित्र छलफल नै नगरी आफ्नो ढंगले निर्णय गर्न थालेकाले आफुहरुले असहमती जनाएको नेता पौडेलले बताउनु भयो ।
यसैबीच नेता पौडेल पक्ष आज हुने प्रधानमन्त्रीको शपथग्रहण समारोहमा भने सहभागी हुने भएको छ ।
प्रधानमन्त्री तथा पार्टी सभापति देउवा र नेता पौडेल पक्षबीच केहिबेरअघि भएको छलफलमा सपथग्रहण समारोहमा सहभागीता जनाउने सहमती बनेको हो ।
यद्धपि पौडेल पक्षले आफ्नो पक्षबाट मन्त्रीको नाम भने सिफारिस नगर्ने जनाएको छ ।