काठमाडौं, जेठ २३ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रियता, प्रजातन्त्र र समाजवाद कमजोर हुनेगरी कसैसँग सम्झौता नगरिने प्रतिबद्धता जनाउनु भएको छ ।
व्यवस्थापिका–संसदको मंगलबारको बैठकमा बोल्दै उहाँले राष्ट्रियता, प्रजातन्त्र र समाजवाद पार्टीको सिद्धान्त भएकाले यसबारेमा कसैले पाठ सिकाइरहनु नपर्ने बताउनु भयो ।
देउवाले आफुभन्दा अगाडि संसदलाई सम्बोधन गर्नुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उठाएका विषयको जवाफ दिँदै ‘एमालेले संसद चल्न नदिएकै कारण प्रधानन्यायाधीशमाथि लगाइएको महाअभियोग प्रस्ताव फिर्ता लिन नसकिएको’ बताउनु भयो । सभापति देउवाले भरतपुर महानगरको घटनालाई जोड्दै ‘मतपत्र च्यात्ने र निर्वाचन गराउने नजीर नै रहेकोले अदालतमा पुगेको विषयमा बहस गर्न नचाहेको बताउनु भयो ।
उहाँले तराई–मधेसका नेतालाई लक्षित गरी धेरै प्रहार नगर्न आग्रह गर्दै हुलाकी राजमार्ग गिरिजाप्रसाद कोइरालाको पालामा सुरु गरेको र त्यसलाई निरन्तरता दिएकोमा ओलीलाई धन्यवाद दिनुभयो । प्रदेश र संघीय संसदको निर्वाचन आउँदो माघ ७ गतेभित्र सम्पन्न गरिने भन्दै उहाँले आशंका नगर्न आग्रह गर्नुभयो ।