काठमाडौँ, २३ जेठ ।
युवा तथा खेलकुद मन्त्रालयले एक वडा दश युवा तथा एक उद्यम कार्यक्रम प्रत्येक निर्वाचन क्षेत्रमा नमुनाका रुपमा सञ्चालन गरेको छ । त्यसबाट दुई हजार ४०० लाभान्वित भएको जनाइएको छ ।
मन्त्री दलजित श्रीपाइलीले आज आयोजित पत्रकार सम्मेलनमा खेलकुद अस्पताल र खेलकुद विश्वविद्यालय स्थापनाका लागि काम भइरहेको जानकारी दिए ।
प्रत्येक प्रदेशमा अन्तर्रा्ष्ट्रिय तहको रङ्गशाला तथा प्रत्येक गाउँपालिका र नगरपालिकामा खेलपूर्वाधारको निर्माण अघि बढेको मन्त्री श्रीपाइलीको भनाई छ ।
खेलाडी कल्याणकारी कोष, खेलाडी स्वास्थ्य बिमा र परिचयपत्रको व्यवस्था गर्न राष्ट्रिय खेलकुद परिषद् बैठकबाट निर्णय भई प्रक्रिया अघि बढेको बताएका छन् ।
उनले खेलकुद विकास ऐन, २०४८ लाई प्रतिस्थापन गर्न खेलकुद विधेयकको मस्योदा तयार गरी मन्त्रिपरिषद्बाट स्वीकृत भएर विधेयक समितिमा पठाइएको जानकारी दिँदै राष्ट्रिय खेलकुद नीति २०६७ परिमार्जनको अन्तिम चरणमा रहेको बताए ।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रदेश नं ५ को बाँके र दाङमा सञ्चालन गर्न पूर्वाधार निर्माणलगायत २९ बुँदे काम यस अवधिमा अगाडि बढाइएको मन्त्रालयले जनाएको छ ।