काठमाण्डौ, जेठ २२ ।
सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउदै नेपाल पुलिस क्लब प्रधानमन्त्री राष्ट्रिय कप क्रिकेटको फाइनलमा पुगेको छ ।
किर्तीपुर स्थित त्रिबि क्रिकेट मैदानमा आज भएको सेमिफाइनलमा सशस्त्र प्रहरीको एपिएफ क्लबलाई डक वर्थ लेविस नियमका आधारमा ३४ रनले हराउँदै पुलिस फाइनल पुगेको हो ।
नेपाल पुलिस क्लवले एपिएफलाई दिएको २ सय ५३ रनको लक्ष्य पछ्याउने क्रममा पानी परेपछि डक वर्थ लेविस नियमका आधारमा निर्णय गरिएको हो ।
पानी परेर खेल रोकिनु अघि एपिएफले २८ ओभर ३ बलमा ६ विकेटको क्षतिमा १ सय ३८ रन बनाएको थियो । एपिएफका लागि ज्ञानेन्द्र मल्लले ४५ र सन्दिप सुनारले ३६ रन बनाएका थिए ।
यसअघि त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धा्रित ओभरमा ९ विकेटको क्षतिमा २ सय ५२ रन बनाएको थियो ।
पुलिसका लागि कुशल भुर्तेलले ५२, सिद्धान्त लोहनीले ४०, दिपेन्द्रसिंह ऐरीले ३७, सौरभ खनालले २६ साथै सुमित महर्जनले २६ रन बनाएका थिए ।
अरुण ऐरी र ज्ञानेन्द्र मल्ले दुईदुई विकेट लिए । दोस्रो सेमिफाइलमा भोली त्रिभुवन आर्मी क्लब र पश्चिमाञ्चलबीच खेल हुनेछ ।