काठमाडौँ, २२ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले निश्चित लक्ष्य तय गरेर अघि बढे मुलुकको आर्थिक समृद्धि र विकासका लागि लामो समय कुर्नु नपर्ने बताउनुभएको छ ।
मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफ्नो नेतृत्वको सरकारले संविधान कार्यान्वयन र आर्थिक वृद्धिको क्षेत्रमा गरेको सकारात्मक प्रयास आगामी दिनका लागिसमेत प्रेरणाको स्रोत हुने बताउनुभयो ।
प्रधानमन्त्री दाहालले आफु प्रधानमन्त्री बन्दा सरकार सामु थुप्रै चुनौतीहरु देखिएपनि १० महिनाको अवधिमा धेरै प्रगति हासिल गरेको बताउनुभयो ।
स्थानीय तहको पहिलो निर्वाचन संविधान कार्यान्वयनको आधारशीला बनेको बताउदै प्रधानमन्त्री दाहालले दोस्रो चरणको निर्वाचनलाई पनि अब कसैले रोक्न नसक्ने दावी गर्नुभयो ।
२००७ साल यता देशमा थुप्रै आन्दोलन, क्रान्ति र विद्रोह भएपनि जनतालाई प्रत्यक्ष लाभ दिने महत्वपुर्ण काम आफु नेतृत्वको सरकारबाट पहिलो पटक भएको उहाँले बताउनुभयो ।
चीन सँगको ओबरमा हस्ताक्षर गरेर सरकारले सन्तुलित विदेश नीति अपनाएको उहाँले प्रष्ट पार्नुभयो । प्रधानमन्त्री दाहालले राजनीतिक नेतृत्व आउने जाने क्रम जारी रहने उल्लेख गर्दै नयाँ व्यवस्थामा चुनौतीहरु आउने भए पनि त्यसलाई सामाना गर्न सबै तयार रहनुपर्ने बताउनुभयो ।
आफ्नो कार्यकाल सफल बनाउन सहयोग गरेकोमा दाहालले सम्पुर्ण कर्मचारीहरुलाई धन्यवाद समेत दिनुभयो ।