काठमाडौ ,२२ जेठ ।
संसदको गतिरोध अन्त्य गर्ने प्रयासमा सभामुख ओनसरी घर्तीको आह्वानमा मुख्य तीन दलका शिर्ष नेता र प्रमुख सचेतकको संयुक्त बैठक आज बस्दैछ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा साँझ ५ बजे बस्ने बैठकमा संसदीय गतिरोध अन्त्य गरी भोली हुने प्रधानमन्त्रीको निर्वाचनका लागि सहज वातावरण बनाउने विषयमा छलफल हुने बताइएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भरतपूर महानगरमा मतपत्र च्यातिएको विषयलाई लिएर लगातार संसद बैठक अवरुद्ध गर्दै आएपछि प्रधानमन्त्रीको निर्वाचन कार्यतालिका प्रभावित भएको छ ।
यसअघि हिजोको संसद बैठकमा मुलुकको नयाँ प्रधानमन्त्री चयनका लागि मतदान गर्ने जनाएपनि एमालेले सदन अवरोध जारी राख्ने जनाएपछि बैठक भोलीसम्मका लागि स्थगित गरिएको छ ।
संसदको अवरोध खुलाउने विषयमा सभामुख घर्तीले हिजो पनि प्रमुख दलका शिर्ष नेताको बैठक बोलाएर पहल गरेपनि सहमति जुट्न नसकेपछि आज थप छलफल हुन लागेको हो ।
भोली हुने प्रधानमन्त्री निर्वाचनका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको मात्र एकल उमेदवारी परेको छ । संसदमा देउवाको पक्षमा स्पष्ट बहुमत रहेकाले देउवा नै मुलुकको ४० औं प्रधानमन्त्री बन्ने निश्चित देखिएको छ ।