काठमाडौं , २० जेठ ।
प्रमुख विपक्षी दल नेकपा एमालेले संसदमा भोली हुने प्रधानमन्त्री निर्वाचनमा उम्मेद्वारी नदिने निर्णय गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई सहज रुपमा प्रधानमन्त्रीमा विजयी हुन नदिने बताउदै आएको एमालेले अन्तिम समयमा उम्मेद्वारी नै नदिने निर्णय गरेको हो ।
एमाले संसदीय दलको कार्यलय सिंहदरवारमा आज दिउँसो बसेको स्थायी समिति बैठकले प्रधानमन्त्री निर्वाचनको कार्यतालिका र बुहमतीय प्रक्रियाबाट प्रधानमन्त्री छनौट गर्न राष्ट्रपति कार्यालयबाट प्राप्त भएको पत्रबारे जानकारी नभएको भन्दै उम्मेद्वारी नदिने निर्णय गरेको हो ।
एमालेको उम्मेद्वारी नदिने निर्णयपछि भावी प्रधानमन्त्रीका लागि कांग्रेस सभापति देउवाको एकल उम्मेद्वारी परेको छ ।
बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति कार्यालयको पत्रबारे संसदलाई औपचारिक जानकारी समेत नभएको अवस्थामा प्रधानमन्त्री निर्वाचनमा सहभागी हुन नसक्ने बताउनुभयो । संसदको अवरोधका बीच सूचना टाँसेर निकालिएको निर्वाचन कार्यातालिकाबारे आफ्नो दललाई जानकारी नभएको ओलीको भनाई छ ।
यसअघि प्रधानमन्त्रीका लागि एमालेले उपाध्यक्ष बामदेव गौतमलाई उम्मेद्वार बनाउने चर्चा बाहिर आएको थियो । स्थायी समिति बैठकमा उपाध्यक्ष गौतमले बर्तमान समीकरणमा एमाले उम्मेद्वारको पराजय निश्चित प्रायः रहेको बताउदै जित्ने अवस्था आए आगामी दिनमा आफुलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाउने नबनाउने प्रश्न उठाएपछि एमाले भोली हुने निर्वाचनमा उम्मेद्वारी नै नदिने निश्कर्षमा पुगेको हो ।