निर्वाचनका लागि वातावरण बनाउन प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

निर्वाचनका लागि वातावरण बनाउन प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

  • शुक्रबार, जेष्ठ १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौँ, १९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो चरणको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै दोस्रो चरण तथा प्रदेश र सङ्घका निर्वाचनमा समेत यस्तै भूमिका खेल्न निर्देशन दिनुभएको छ ।

प्रहरी निरीक्षक आधारभूत तालिम १६५औँ समूहको दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्रीले दीक्षित हुन लाग्नुभएका अधिकृतहरूले पनि स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न गराउने चुनौतीपूर्ण अवसर प्राप्त गरेको बताउनुभयो ।

उन्नाइस महिनाको निरन्तर तथा अथक प्रयास, दृढ समर्पण, लगन र मिहेनतपश्चात् प्रहरी निरीक्षक तालिम सफलतापूर्वक सम्पन्न गरेकामा दीक्षित भएकाहरूलाई प्रधानमन्त्रीले बधाई दिँदै कार्य क्षेत्र र व्यक्तिगत जीवनमा सदैव सफलताको शुभकामना दिनुभयो ।

समग्र राज्यको सुरक्षा र सञ्चालनमा आन्तरिक सुरक्षाको महत्वपूर्ण र गहन जिम्मेवारी सरकारले नेपाल प्रहरीलाई दिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले प्रहरी कानुनको आँखा पनि हो, जसले सबै ठाउँमा निगरानी राख्छ भन्नुृभयो ।

प्रहरीले समाजमा शान्ति सुव्यवस्था कायम राख्न आवश्यक पर्ने ज्ञान, सीप र दक्षता अभिवृद्धिका लागि हालका दिनमा प्रहरी निरीक्षक आधारभूत तालिमलाई आधुनिकीकरण तथा अन्तर्राष्ट्रिय रूपमा समेत शैक्षिक पहिचान दिलाउने उद्देश्यले त्रिभुवन विश्वविद्यालयसँगको सम्बन्धनमा पिजी डिप्लोमा कार्यक्रम सञ्चालन गरेको जानकारी पाउँदा आफूलाई खुसी लागेको प्रधानमन्त्रीले बताउनुभयो ।

समय र प्रविधिको विकास सँगसँगै अपराधको क्षेत्रमा समेत नयाँ नयाँ चुनौती र जटिलता थपिएकाले त्यस्ता किसिमका चुनौतीलाई व्यावसायिक र प्रभावकारी रूपमा सामना गर्न परिष्कृत ज्ञान, सीप साथै दायित्वबोध र निरन्तर लगावको खाँचो पर्नेमा उहाँले जोड दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले लोकतन्त्रसँगै आमनागरिकमा राज्यप्रतिको माग र आकाङ्क्षाहरू बढेर गएसँगै केही आपराधिक र गैरराजनीतिक तत्वहरू यसै अवसरलाई उपयोग गरी अवाञ्छित क्रियाकलाप सञ्चालन गर्ने दुष्प्रयास गरिरहेको उल्लेख गर्नुभयो । दीक्षित भई जान लागेका प्रहरी अधिकृतहरूलाई लक्षित गर्दै उहाँले कार्य क्षेत्रमा आफूलाई प्राप्त ज्ञान, कौशल र सीपको सही र उचित सदुपयोग गरी यस्ता अवाञ्छित क्रियाकलापलाई नियन्त्रण गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले जनमैत्री प्रहरी सेवालाई थप प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

प्रहरीले दिने जनसेवा नागरिकले बिना भेदभाव सरल र सहज रूपमा पाउने वातावरण बनाउन दीक्षित भएका प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो ।

प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रशिक्षणको दिन सकिएको र अब परीक्षाको दिन सुरु भएकाले त्यसमा इमान्दारितापूर्वक व्यावसायिक कार्यमा लाग्न अधिकृतहरूलाई आग्रह गर्नुभयो ।

थापा उत्कृष्ट प्रशिक्षार्थी

तालिममा लमजुङका नारायण थापा प्रथम, धनकुटाका मोतिलाल योञ्जन तामाङ द्वितीय, बैतडीका केशवराज भट्ट तृतीय हुनुभयो ।

त्यस्तै अध्ययनतर्फ कैलालीका नरेशराज मल्ल प्रथम, कवाजतर्फ कञ्चनपुरका नरबहादुर साउद, शारीरिक व्यायामतर्फ धनकुटाका मोतिलाम योञ्जन तामाङ, प्रहरी युक्ति तथा कारबाहीतर्फ बागलुङका दीपक थापा र चाँदमारीतर्फ बैतडीका पुष्करराज पन्त र महिलातर्फ काभ्रेपलाञ्चोककी अनु लामा प्रथम हुनुभयो । दीक्षान्त समारोहमा उत्कृष्ट प्रशिक्षार्थीलाई प्रधानमन्त्रीले पुरस्कृत गर्नुभयो ।

तालिममा १३ जना महिलासहित १३२ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ