काठमाडौँ , १९ जेठ । पूर्वाञ्चलका जिल्लाहरुमा चुनाव गर्न सुरक्षा स्थिति ज्यादै संवेदनशील रहेको रिपोर्ट सरकारलाई दिइएको छ ।
पूर्वका १६ वटै जिल्लाका जिल्ला सुरक्षा समितिबाट प्राप्त प्रतिवेदनका आधारमा पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय धनकुटाले यस्तो प्रतिवेदन सरकारले दिएको हो ।
सबै जिल्लामा गरी १ हजार ५४३ मतदान केन्द्र रहेकोमा ७ सय ७५ मतदान केन्द्रलाई अति संवेदनशील र ७ सय मतदान केन्द्रलाई कम संवेदनशीलको सूचीमा राखेर प्रतिवेदन तयार पारिएको बताइएको छ ।
यस क्षेत्रमा ६० नगरपालिका, तीन उपमहानगरपालिका र १ सय आठ गाउँपालिका रहेका छन् । अति संवेदनशील सूचीमा पर्ने केन्द्रहरु हिमाली र तराइ दुवै क्षेत्रका जिल्लामा रहेको जनाइएको छ ।
निर्वाचनको विरोध र बहिस्कारमा रहेका दल, भूमिगत र आपराधिक समूहहरुको उपस्थिति र गतिविधिको सूक्ष्म मूल्यांकन गरी सोहीअनुरुप प्रतिवेदन तयार पारिएको जनाइएको छ ।
यस क्षेत्रमा स्थानीय चुनाव सम्पन्न गराउन कठिन हुने र बलियो सुरक्षा व्यवस्था सरकारले गर्नसक्नुपर्ने कुरा प्रतिवेदनमा औल्याइएको छ ।