काठमाडौं , १९ जेठ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध भएको स्थितिमा कुनै पनि कार्यसूची अगाडि नबढाउन सभामुख ओनसरी घर्तिमगरसँग आग्रह गरेको छ ।
सभामुख घर्तिमगरले डाकेको कार्यव्यवस्था बैठकमा बोल्दै एमाले सांसद राजेन्द्र पाण्डेले भरतपुरमा मतगणना सञ्चालन नभएसम्म संसद् चलाउन नदिदे अडान दोहोर्याउनु भयो ।
उहाँले प्रश्न गर्दै भन्नुभयो , संसद अवरुद्ध भएको स्थितिमा कसरी कार्यसूची अगाडि बढाउन मिल्छ?’
संसद अवरुद्ध भएको स्थितिमा कार्यसूची अगाडि बढाउन नमिल्ने बताउँदै सांसद पाण्डेले प्रधानमन्त्री चयन प्रक्रिया पनि अवरुद्ध हुने बताउनु भयो ।
यता माओवादी केन्द्रका सांसद रामनारायण बिडारीले प्रधानमन्त्री चयन गर्ने संसदको अधिकार भएकोले कार्यसूची सार्वजनिक गर्न माग गर्नुभयो ।
सरकार कामचलाउ भैसकेकाले दोस्रोचरणको निर्वाचन गर्नपनि नयाँ सरकारको आवश्यक्ता भएकोले प्रधानमन्त्री चयनको कार्यसूची अगाडि बढाउनुपर्ने उहाँको जोड छ ।
दुई दलको कुरा बाझिएपछि सभामुखले आजै ३ बजे शीर्ष नेताहरुको बैठक बोलाउनु भएको छ ।
यसअघि बिहीबारदेखि नै बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनको कार्यतालिका प्रकाशन गर्ने तयारी गरिएको थियो। तर एमालेले संसद अवरोध गरेपछि अन्तिम समयमा कार्यतालिका रोकिएको थियो।
संसद बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।
राष्ट्रपतिले दिएको समयसीमा भित्र दलहरुले सहमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न नसकेपछि बिहिवारबाट बहुमतीय प्रक्रिया सुरु भएको हो ।
सभामुख घर्तीले भोली उमेदवारी मनोनयनदेखि अन्तिम नामवली प्रकाशनसम्मको प्रक्रिया पूरा गर्ने र २१ गते प्रधानमन्त्री चयनका लागि निर्वाचन गर्ने गरी तयारी गर्नुभएको उहाँका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो ।