काठमाण्डौ ,१९ जेठ ।
नयाँ प्रधानमन्त्री चयनका लागि संसद्मा २१ जेठमा निर्वाचन हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८३ ९३० अनुसार बहुमतीय प्रक्रिया थाल्न बिहीबार पत्राचार गरेसँगै संसद्ले प्रक्रिया थालेको हो ।
माओवादी केन्द्रसँगकोअहिलेको सत्तागठबन्धनसँग स्पष्ट बहुमत भएकाले काग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री चयन हुने सम्भावना छ ।नयाँ सरकार गठनको तयारीमा रहनुभएका सभापति देउवाले दोस्रो चरणको स्थानीय निर्वाचनअघि सानो आकारको मन्त्रिपरिषद् बनाउने योजना बनाउनु भएको छ । त्यसका लागी आन्तरिक तयारी पनि गरिरहनुभएको छ । सबै मन्त्री अहिले नै बनाउँदा निर्वाचनको मुखमा पार्टीभित्र विवाद देखिनसक्ने भएकाले तत्काल सानो आकारको मन्त्रिपरिषद् बनाइने कांग्रेस स्रोतले जनाएको छ ।
आगामी २१ जेठमा प्रधानमन्त्रीको निर्वाचन गर्ने संसद् सचिवालयको तयारी छ ।
अबको सरकारमा कांग्रेसलाई अर्थ, माओवादीलाई गृह
कांग्रेस–माओवादी गठबन्धनबीच सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवालाई दिने पुरानै सहमति छ । त्यसैको आधारमा माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले राजीनामा पनि दिनुभएको हो ।
नयाँ सरकारमा मन्त्रालय भागबन्डा, दलहरूको सहभागितालगायतका विषयमा गृहकार्य गर्न कांग्रेसको तर्फबाट विमलेन्द्र निधि, रमेश लेखक र माओवादीका तर्फबाट कृष्णबहादुर महरा र वर्षमान पुनको कार्यदललाई जिम्मा दिइएको छ ।
कार्यदलले बुधबार साँझ पनि सरकार गठन, मन्त्रालय बाँडफाँडलगायतका विषयमा छलफल पनि गरेको थियो । स्रोतका अनुसार प्रधानमन्त्रीको पार्टीले अर्थ र अर्को दलले उपप्रधानमन्त्रीसहित गृह मन्त्रालय राख्ने सैद्धान्तिक सहमति भएको जानकारी दिदै कार्यदलले अन्य कति मन्त्रालय कुन दललाई दिने भन्नेबारे सरकारमा सहभागी दलका आधारमा छिनोफानो हुने छ ।
संसद्को अंकगणितमा आफ्नो पक्षमा बहुमत पक्काजस्तै भएकाले देउवाले मन्त्री छनोटको तयारीसमेत गर्नुभएको छ । दोस्रो चरणको निर्वाचनअघि नै पाँचजना मन्त्री बनाउने तयारी उनको छ । कांग्रेसका दुई, माओवादी केन्द्रका दुई र लोकतान्त्रिक फोरमबाट एकजनालाई सहभागी गराएर सानो आकारको मन्त्रिपरिषद् बनाउने मनस्थितिमा देउवा रहेको स्रोत बताउँछ ।
२१ जेठमा प्रधानमन्त्रीका लागि निर्वाचन हुने भएकाले कांग्रेस संसदीय दलले सांसदहरूलाई काठमाडौं नछाड्न निर्देशन दिएको छ ।
उता, राप्रपाले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा बन्ने बहुमतीय सरकारमा सहभागी हुन औपचारिक पत्र आएमा छलफलका लागि सकारात्मक रहेको जनाएको छ । राप्रपा महामन्त्री सुनील थापाले सरकारमा सहभागिता जनाउन देउवाका तर्फबाट औपचारिक पत्र आए छलफल गर्ने बताउनु भयो ।