काठमाडौ ,१६ जेठ ।
चितवनको भरतपुर महानगरपालिकामा रोकिएको मतगणना तत्काल सुरु गर्न माग गर्दै नेकपा एमाले चितवनले धर्ना दिएको छ ।
आइतबार राति मतपत्र च्यातिएपछि रोकिएको मतगणना फेरि सुरु गर्न माग गर्दै एमाले चितवनले मतगणनास्थल भरतपुरको कवर्डहल बाहिर आज बिहानदेखि धर्ना सुरु गरेको हो ।
एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेल, मेयरका उम्मेद्वार देवी ज्ञवाली, उपमेयरका उम्मेद्वार दिव्या शर्मा लगायतको नेतृत्वमा नेता तथा कार्यकर्ता धर्नामा बसेका छन् ।
धर्ना अघि बिहान नारायणगढको पुलचोकबाट मतगणना स्थलसम्म विरोध र्याली निकालेको थियो । धर्नामा बसेका नेता कार्यकर्तालाई सम्बोधन गर्न पार्टी महासचिव ईश्वर पोखरेल दिउँसो चितवन जाने कार्यक्रम रहेको छ ।
भरतपूर महानगरमा माओवादी र कांग्रेसले पुनः मतदानको माग गर्दै आएको छ भने रोकिएकै स्थानबाट मतगणना सुरु गर्नुपर्ने एमालेको अडान छ । आइतबार राति वडा नम्बर १९ को मतगणना भइरहेका बेला मतपत्र च्यातेपछि मतगणना रोकिएको हो ।