काठमाण्डौ ,१६ जेठ ।
राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि दिएको एक साताको समय गुज्रनै लाग्दा कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार सर्वदलीय बैठक बोलाएका छन् ।
संसद्भवन सिंहदरबारमा अाज देउवाले एमालेसहितका संसद्मा रहेका दललाई पत्र पठाएरै बैठक आह्वान गरिएको कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले जानकारी दिए । तर, एमालेले छलफलमै नआउने बताएपछि अब सहमतीय सरकार गठनको सम्भावना कमजोर बनेर गएको छ । राष्ट्रपतिले सहमतीय सरकारका लागि आह्वान गरे पनि कांग्रेसले देउवा नेतृत्वमा सरकार गठन गर्ने भन्दै पत्र पठाएपछि एमाले असन्तुष्ट बनेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार सहमतीय सरकारका लागि सात दिनको समय दिएकी थिइन् ।
प्रधानमन्त्रीले राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि कांग्रेसबाट विमलेन्द्र निधि र रमेश लेखक तथा माओवादीबाट कृष्णबहादुर महरा र वर्षमान पुन सदस्य रहेन गरी चारसदस्यीय कार्यदल बनेको थियो । तर, कार्यदलले सहमतीय सरकारका लागि संसद्मा रहेका दलसँग कुनै औपचारिक छलफल नै गरेन ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले एजेन्डासहितको सरकार बन्ने प्राथमिकताको विषय भएको भन्दै एजेन्डामा सहमति नभई सहमतीय सरकार नारामै सीमित हुने बताएका छन् । सहमतीय सरकारका लागि प्रमुख प्रतिपक्षी दल एमाले नै बाधक रहेको उनको भनाइ छ । ‘सरकारमा आउन गठबन्धनले उठाउँदै आएका राष्ट्रिय एजेन्डालाई समर्थन गर्नुपर्छ । तराई मधेसको भावनालाई समेट्न उनीहरूका एजेन्डालाई समर्थन गर्दै संविधान संशोधन र स्थानीय तहको संख्या थपसहितका विषयमा एमालेको धारणा नै आएन,’ लेखकले भने, ‘एजेन्डामै सहमति नहुने हो भने राष्ट्रिय सहमति मात्रै भनेर हुँदैन ।
उता ,माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकारको नेतृत्वका लागि आफ्नो पार्टीलाई कुनै रुचि नभएको बताएका छन् । अहिलेसम्म सरकार गठनका लागि पहल नभए पनि मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवाले दलहरूलाई छलफलका लागि बोलाएको उनले जानकारी दिए । तर, कांग्रेससँग भएको भद्र सहमतिअनुसार अब देउवालाई प्रधानमन्त्री बनाएर आगामी ७ माघसम्म प्रदेश र संसद्को निर्वाचन गर्दासम्म गठबन्धनलाई कायम राख्ने पक्षमा माओवादी छ ।
कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि भन्दै सोमबार चिठी पठाएपछि एमाले सर्वदलीय छलफलमै नजाने भएको छ । एमाले अध्यक्ष केपी ओलीले चिठीमा कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने भन्दै खुला रूपमा सहमतीय सरकारको बाटो बन्द गरिदिएपछि आफूहरू छलफलमै सहभागी नहुने बताए ।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सहमतीय सरकारका लागि छलफल गर्न कांग्रेसले बोलाएको सर्वदलीय बैठकमा नजाने बताए । ‘हिजो हामीले सँगै जाऔँ भन्दा एउटा सत्ता अर्को विपक्षमा बस्नुपर्छ भन्नुभयो । त्यो कसले आविष्कार गर्यो थाहा छैन,’ नेम्वाङले भने, ‘तर, त्यसो भन्ने साथीहरू हाम्रो नेतृत्वमा सरकार बनाउनुप¥यो भन्दै एमालेलाई निम्ता गर्न आउनु हिजोभन्दा सकारात्मक हो । तर, पनि हामी कांग्रेसले बोलाएको बैठकमा जाँदैनौँ ।’ नेम्वाङले ७ माघभित्र संसद् र प्रदेशको निर्वाचन गराउन एमालेको सहयोग हुने बताए ।
सहमतीय सरकार गठन नहुने भरएपछि अब १७ जेठपछि बहुमतीय प्रक्रियाबाट नयाँ प्रधानमन्त्री चुनिने भएका छन् । १७ जेठमा राष्ट्रपतिले दिएको सहमतीय सरकारको समय सकिनेछ । त्यसपछि बहुमतीय सरकार गठनको प्रक्रिया आरम्भ हुनेछ । कांग्रेस नेताहरूका अनुसार २१ जेठसम्म कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् । कांग्रेसले माओवादी, नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरमसहितका दललाई समेटेर सरकार बनाउने तयारी गरेको छ । निर्वाचनअघि सानो आकारको मन्त्रिमण्डल बनाउने र दोस्रो चरणको निर्वाचनपछि सरकार विस्तार गर्ने तयारीमा देउवा छन् ।