महानगरपालिकाको उपमेयरमा भारी मतसहित निर्वाचित हरिप्रभा खड्गी (श्रेष्ठ) को जन्म विक्रम सम्बत् २०२४ मा बुबा हरिचन्द्र दास श्रेष्ठ र आमा लक्ष्मी प्रभा श्रेष्ठको कोखबाट भएको थियो । भक्तपुरको भरुवा चोकमा जन्मिएकी हरिप्रभाको बाल्यकाल सोही नेवार बस्तीमा धुलो माटोसँग खेल्दै आफन्त छरछिमेकमा दौडँदै बित्यो । प्रारम्भिक शिक्षा पनि सोही बस्तीको एक पाटी (चौतारो) मा बसेर सिलेटमा खरीले क ख लेख्दै सुरु भयो ।
तर त्यसपछि उनले एसएलसी उत्तीर्ण गर्दासम्म एउटै विद्यालयमा पढ्न पाइनन् । उनको परिवारमा सबै जना जागिरे त्यसमा पनि बुबा हरिचन्द्र सर्जन डाक्टर थिए । सरकारी हस्पिटलमा काम गर्ने भएकाले बुबाको जागिर एउटै अस्पतालमा कहिलै भएन । सुरुमा वीर अस्पताल, भक्तपुर हस्पिटल, ठिमीलगायतका अस्पतामा काम गर्दासम्म उनी आफ्नै घरमा बसेर पढिन् । तर जब काठमाडौँबाहिर बुबाको सरुवा हुन्थ्यो, उनी पनि आफ्नो परिवारसँगै पछिपछि जानुपथ्र्यो ।
कुन कुन जिल्ला पुगिन् र कति वटा स्कुल पढिन् भन्ने उनलाई नै याद छैन । भन्छिन्, “बुबाको सरुवा हुनासाथ हामी पनि जानुपथ्र्यो, रसुवा, बारबिसेको जलबिरे र कलैयामा पढेको मात्रै याद छ । अहिले जस्तो विद्यालय फेर्न कठिन थिएन । जति बेला पनि भर्ना हुन मिल्थ्यो । त्यसैले पढ्न कठिनाइ भएन उनले भनिन् तर पढ्दा पढ्दै बिचैमा पढाइ छाडेर हिड्न पर्दा दुःख लागेर रोएको पनि छु ।”
जुनसुकै जिल्ला पुगेर पढे पनि अक्षर सिक्ने र एसएलसी दिने ठाउँ भनै संयोगले उनलाई भक्तपुरमा नै जु¥यो । भक्तपुरको पद्म कन्या स्कुलबाट उनले एसएलसी उत्तीर्ण गरिन् ।
वकिल बन्ने रहर तर बनिन् नेता
बाबु डाक्टर भए पनि उनलाई कानुन पढ्ने रहर थियो । उक्त इच्छा आफ्नै सानोबुबा केदार प्रसाद गिरी (पूर्व प्रधानन्यायधीश) ले प्रेरणा र सहयोगले पुरा भयो तर बिचमै अँधुरो रहन गयो ।
एसएलसी सकेलगत्तै वि.सं. २०४२ मा ल क्याम्पसमा भर्ना भएर पढाइ सुरु गरेकी हरिप्रभाको साइन्सका विद्यार्थी बागबजारका प्रकाश खड्गीसँग माया बस्यो । त्यति बेला बहुदलको राजनीतिक आन्दोलन सुरुवाती चरण भएकाले युवा विद्यार्थीहरू आन्दोलनको तयारीको अग्र मोर्चामा थिए ।
आन्दोलनको तयारीबारे छलफल गर्न विभिन्न कलेजका विद्यार्थीहरूबिच आवत जावत, छलफल, बैठक भइरहन्थ्यो । सोही क्रममा त्रिचन्द्र क्याम्पसमा बिएस्सी पढ्दै गरेका प्रकाश र हरिप्रभाको चिनजान मायाप्रेममा बदलिएको थियो ।
उनीहरू २०४४ साल पुस ५ गते विवाह बन्धनमा बाँधिए । प्रकाशले हाल पाटन क्याम्पसमा वनस्पति विज्ञान पढाउँछन् ।
बिहेपछि एक वर्ष पढाइ रोकियो । पछि प्रकाशले तिमीले पनि पढ्नुपर्छ, भनेर आफँैले बागबजारको पद्मकन्या क्याम्पसमा आइए अध्ययनका लागि भर्ना गरिदिए । तर त्यसलाई पनि उनले निरन्तरता दिन सकिनन् । आइए पास भए पनि बिएको पढाइ बिचमै रोकियो । कलेज जान थालेको केही समयपछि उनी गर्भवती भएको थाहा भयो । डाक्टरलाई देखाउँदा आमा र पेटमा भएको बच्चा दुवैको ज्यान जोखिममा छ, हरिप्रभाले बच्चालाई जन्म दिन सक्दिनन् भन्ने जवाफ दिए । त्यसलगत्तै उनले पढाइ छाडेर घरमा नै बसिन् र जोखिमपूर्ण रूपमा नै २०४५ सालमा पहिलो सन्तानको रूपमा छोरी (रोहिना खड्गी ) लाई जन्मि दिइन् ।
यसरी सुरु भयो राजनीतिक यात्रा
हरिप्रभावको राजनीतिक जीवन वि.सं. २०४२ बाट सुरु भयो । घरमा राजनीतिक माहोल थिएन । तर हजुरबुबा कुलदास श्रेष्ठकामा सधैँ नेता गणेशमान सिंहको चर्चा भइरहन्थ्यो । सोही कुराहरूबाट प्रभावित हरिप्रभा ल क्याम्पसमा पढ्दा नेपाली काँग्रेसको भगिणी सङ्गठन नेपाल विद्यार्थी सङ्घमा आबद्ध भइन् ।
सोही क्रममा चाक्सिबारीस्थित नेता गणेशमानको घरमा जाने अवसर मिल्यो । उनी तत्काल नेविसङ्घका अन्य साथीहरूसँग मिलेर चाक्सिबारी पुगिन् । सधैँ सुनिरहेको नाम भेट्ने औधी रहर तर पहिलो भेटमा नम्र थिएनन् गणेशमान । उनले कडा शैलीमा ठाडै कार्यकर्ताहरूलाई भने, “पार्टीको कार्यकर्ता मात्र बन्ने हैन, देशको लागि काम गर्ने हो । राजनीतिमा लाग्ने हो भने देश र जनताको लागि लड्नु आफ्नो स्वार्थका लागि हैन ।” हरिप्रभाले सम्झिइन्, “यो वाक्यांस नै मेरो राजनैतिक जीवनको पहिलो खुड्किलो बन्यो ।”
विवाहपछि १ वर्षजति राजनैतिक काममा पनि खासै समय दिन नपाएकी उनले फेरि २०४४ सालमा पिके क्याम्पसमा सङ्घमा नै जोडिएर सक्रियता देखाइन् । त्यतिबेला क्लासमेट काँग्रेस नेतृ कमला पन्त थिइन् । भक्तपुरे चेली हरिप्रभाको स्थायी ठेगाना बिहेपछि ‘काठमाडौँ वडा नम्बर २८ (पहिलो ३१ वडा) बागबजार’ को रूपमा बदलियो । उनी त्यहाँ काँग्रेस निकट महिला सङ्घको वडा कमिटीमा सङ्गठित भइन् र सचिवको जिम्मेवारी सम्हालिन् । त्यति बेला वडा कमिटीको अध्यक्ष भने लिला भण्डारी थिइन् ।
वि.सं. २०४६ सालको आन्दोलन चर्किँदै थियो । हरिप्रभाले आन्दोलनमा पार्टीले तोकिदिएको जिम्मेवारी सम्हाल्न थालिन् । उनलाई सडक आन्दोलनमा उत्रिएकाहरूलाई पानीको व्यवस्था मिलाउने र सुरक्षाकर्मीको आक्रमणबाट घाइते भएकाहरूलाई सुरक्षित स्थानमा लैजाने र प्रहरीको दमन धरपकटका क्रममा आवश्यक सामग्री उपलब्ध गराउने जिम्मेवारी थियो ।
आन्दोलनको केन्द्र प्रायजसो बागबजार आसपासका क्षेत्र हुन्थ्यो । सडकको आफ्नो घर प्रहरीले अश्रुग्याँस हानेकाहरूलाई कम असर परोस् भनेर कहिले प्याज काटेर र कहिले पानी फ्याकेर आन्दोलनकारीलाई सहयोग गर्ने गर्थिन् ।
आन्दोलन चर्कँदै थियो । एक दिन उनले झ्यालबाट पानी फ्याँकेर बाहिर हेर्दै थिइन् । त्यही बेला सुरक्षाकर्मीले हरिप्रभालाई ताकेर ढुङ्गा बर्साए । गोबिन्द बहादुर अग्रवाल सहिद भएकै दिन कफ्र्यु लाग्यो । आन्दोलनको स्मरणमा भावुक र आक्रोसित बनेकी हरिप्रभाले भनिन्, “त्यसै दिन सुरक्षाकर्मीले हानेको ढुङ्गाले मेरो घरको झ्यालको सिसा फुट्यो । सिसा मेरो आँखामा पर्यो। निधारमा पनि घाउ भयो । निधारको घाउमा टाँका लगाउनुपर्यो। आँखामा चोट लागेपछि धेरै दिनसम्म हेर्नै सकिनँ । दृष्टि नै गुम्छ कि भन्ने चिन्ता थियो तर, श्रीमान् (प्रकाश खड्गी) ले तुरुन्तै वीर अस्पतालमा लगेर उपचार गराए ठिक भयो । तर अस्पतालबाट बाहिर निस्कँदा आन्दोलनमा सहादत प्राप्त गरेकाहरूको शव वीर अस्पतालको गेटमा देख्दा पीडा हैन आक्रोश पोखियो अनी आन्दोलनमा झन् सक्रिय भएर लागियो”, उनले सुनाइन् ।
भातृ सङ्गठनको इकाइ सदस्यदेखि उपमेयरसम्म
हरिप्रभा काँग्रेसका भ्रातृ संस्थाका इकाइ, क्षेत्र, जिल्ला हुँदै उनी केन्द्रको राजनीतिमा आएकी थिइन् । ०४६ सालमा नेपाल महिला सङ्घको इकाइका सचिव, त्यसपछि क्षेत्रीय सदस्य हुँदै २०५४ सालमा स्थानीय चुनावमा २८ नम्बर वडाको वडा सदस्यमा उठेर जित हासिल गरिन् ।
भातृ सङ्गठनमा नै सक्रिय उनी पुनः ०५७ सालमा नेमसङ्घको जिल्ला सदस्य बनिन् । वडा सदस्यसमेत भइसकेकी हरिप्रभाले पछि ०६२/०६३ सालको जन आन्दोलनमा त्यहाँकाको नेतृत्व नै सम्हालिन् ।
मात्र ६ महिनाको बच्चा छोडेर आन्दोलनमा होमिएकी हरिप्रभाले आन्दोलनको यसरी सम्झना गरिन्, “त्यति बेलाको आन्दोलनका क्रममा कति चोटि जेल परेँ थाहा छैन । दुई तिन दिनमा पक्राउ परिरहन्थ्यो । एक दिन रत्नपार्कमा काँग्रेस नेतृ सुजता कोइरालाले प्रहरीलाई लात्ताले हानेपछि हामी तिन जना ( हरिप्रभा, लक्ष्मी थापा र सांसद सरस्वती बजिमय) लाई गिरफ्तार ग¥यो ।
कोइला राख्ने ट्रकमा हामीलाई हालिएको थियो, कहिले दायाँ कहिले बायाँ हामी बजारिन्थ्यौँ, त्यो बेला बाँचिन्छ भन्ने रत्ति लागेन । यसरी नै हामीलाई अब मार्ने रहेछ भन्ने लागेको थियो तर आधा रातमा पछि छाड्यो ।”
सोही आन्दोलनमा अर्को संयोग पनि जु¥यो यताबाट हरिप्रभा पक्राउ परिन् । अर्को क्षेत्रबाट प्राध्यापक सङ्घबाट आन्दोलनमा सडकमा उत्रिएका श्रीमान प्रकाशलाई पनि नियन्त्रणमा लिएको थियो । प्रकाश हरिप्रभा भन्दा पुराना काँग्रेसका सक्रिय सदस्य हुन् ।
हरिप्रभा पछि काँग्रेस निकट नेपाल महिला सङ्घको ०६४ र ०६९ सालमा दुई कार्यकाल केन्द्रीय सदस्य पनि बनिन् । उनको योगदान र निरन्तरताकै कारण नेपालमा भएको पहिलो र दोस्रो पटकको संविधान सभा निर्वाचनमा काँग्रेसले संविधान सभाको चुनावमा समानुपातिकको सूचीमा राखेको थियो । तर हरिप्रभा पार्टीको गुटगत राजनीतिको सिकार भइन् तर दुबै पटक उनी सभासद हुनबाट वञ्चित भइन् ।
गिरिजा प्रसाद कोइरालाको आग्रहमा पहिलो संविधान सभाको समानुपातिक सभासद छनोटको दौडबाट उनी बाहिरिएकी थिइन् ।
तर उनले मिर्मिरे अनलाइनसँगको कुराकानीमा आफू सभासद नभएको दुखेसो नभएको बताइन् । भनिन्, “सभासदको सूचीबाट नाम काटिँदा हरिप्रभालाई दुःख त लागेको थियो तर अहिले काठमाडौँको उपमेयरमा जितेकोमा औधी खुसी छु । सायद मैले सभासद भएर खासै देश र जनताका लागि उपलब्धिमूलक केही काम गर्न सक्ने थिइनँ, अब उपमेयर भएर गर्छु । अब त मलाई पुरै काठमाडौँबासीले चिन्छन्, कार्यकारी ठाउँमा पुगेको छु, केही गरेर देखाउने छ, ।”
अहिलेको स्थानीय तहको निर्वाचनमा पनि पार्टीभित्रै कठिनाइहरू त नआएका होइनन् तर हरिप्रभाको ग्राँस रुटदेखि नै काम गरेर आएको राजनीतिक योगदानलाई देखेर नै पार्टीले उनीप्रति सही मूल्याङ्कन पार्टीभित्र ग¥यो फलस्वरूप उनी काठमाडौँको उमपेयर पदमा काँग्रेसबाट निर्विकल्प उम्मेदवार बनेकी थिइन् । उनी भन्छिन्, “मलाई पार्टी र महानगरबासीले छाने । मैले उपमेयरको टिकट पाउँदा पनि कसैले विरोध गरेनन् ।”
उनले यति बताइरहँदा श्रीमान् प्रकाश, सासू र हालै निर्वाचित काठमाडौँको २८ वडाका वडाध्यक्ष भाइराम खड्गीको नाम लिन छुटाइनन् ।

काठमाडौँको उपमेयरमा विजयी भएपछि समर्थकहरू माझ खुसी साट्दै हरिप्रभा । साथमा काठमाडौँ वडा नं. ८ का वडाध्यक्ष भाइराम खड्गी ।
प्रकाशले राजनीतिक यात्रामा पूर्ण विराम लगाएर पनि हरिप्रभालाई निरन्तर सपोट गरिरहे अनि सासूले पनि घरमै बसेर हरेक आन्दोलनमा सक्रिय भूमिका खेलिन् । बुहारीलाई छोरी सरह सहयोग र स्वतन्त्रता दिइन् । उनी भन्छिन्, “यसैको प्रतिफल पनि हो । मेरो आजको सफलता ।”
गणेशमानको प्रेरणा, मङ्गलादेवीको सम्झना
हरिप्रभाको राजनीतिमा झुकाव नै गणेशमानका कारण भयो । त्यसपछि धेरै नेताहरूसँग उनको सङ्गत र चिनजान भयो । तर उनी गणेशमान, मङ्गलादेवी सिंह र गिरिजा प्रसाद कोइरालालाई आदर्शको पात्र मान्दछिन् ।
सबैभन्दा धेरै माया, सहयोग र राजनीतिमा लाग्ने प्रेरणा गणेशमान सिंहकी श्रीमती मङ्गलादेवीबाट पाएको उनको भनाइ छ । उपमेयर जितेरपछि उनैको घरमा पुगेको मिर्मिरे अनलाइनसँगको कुराकानीमा उनले भनिन्, “अहिले यो खुसीमा म गणेशमान र मङ्गलादेवी सिंहलाई सम्झिरहेकी छु ।” त्योसँगै नेता प्रकाशमान र नवीन्द्रराज जोशीको पनि प्रशंसा गर्न पछि परिनन् ।
आगामी योजना के छ ?
निकटमत प्रतिद्वन्द्वीलाई २४ हजार बढी मतान्तरले पराजित काठमाडौँ महानगरपालिकाको उपमेयरमा निर्वाचित हरिप्रभा खड्गी विजयी भएकी छन् । खड्गीले ५८ हजार ९५२ मत पाइन् ।
मिर्मिरेले उनलाई अब त उपमेउरमा विजयी हुनुभयो, के छन् त योजना भन्ने जिज्ञासामा जवाफ दिइन् “धुलोरहित हराभरा काठमाडौँ र महिलाको आर्थिक सवलीकरण ।”
त्यसलाई थप प्रस्ट्याउँदै हरिप्रभाले भनिन्, “तिस चालिस वर्ष अघिको जस्तो हराभरा काठमाडौँ त बनाउन सकिँदैन तर महानगरवासीलाई स्वस्थ्य बनाउने प्रयत्न हुने छ ।
महिलाहरुरू आर्थिक रूपमा सक्षम नभएसम्म उनीहरू सक्षम नहुने र आधा भन्दा बढी मुलुकको जनता असक्षम हुँदा विकासको गतिमा देश अघि नबढ्ने उनको बुझाइ छ । त्यसैले महिला दिदी बहिनीहरूलाई आर्थिक रूपमा सक्षम बनाउन पहिले शैक्षिक स्तर उकास्ने र उद्योगी बनाउँदै लैजाने योजना उनको छ । तर त्यसका लागि सहज भने उनी आफैँले देखेकी छैनन् ।
भन्छिन्, “महानगरमा जितेर आएका हरेक महिला जनप्रतिनिधिसँगको सहकार्यमा सबै वडामा अभियान लाने छु । समाज, परिवार मात्रै होइन सरकारका नियम कानुनहरू पनि महिलाका लागि बाधक छन् । म यी सबै सुधार गर्न लाग्छु । महानगरबासीले सुधारको अनुभूति गर्न पाउने छन् तर अरुको साथ र सहयोग कस्तो हुन्छ, हेर्न बाँकी छ ।
त्यस्तै अबको केही समयमा नै वसन्तपुर र धरहरा लगायतका सम्पदाको पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढाएर सम्पन्न गराउने बताइन् ।
यसका लागि पहिले आफैँबाट परिवर्तनको सुरुवात गर्नुपर्ने भन्दै उपमेयर हरिप्रभाले जनता सचेत भएमा सबै असम्भव भन्ने केही नरहेको बताइन् । उनले भनिन्, “पहिले जनतालाई सचेत बनाउनुपर्छ, आवश्यक कानुन निर्माण र भएकालाई कडाइका साथ व्यावहारिक रूपमा कार्यान्वयनमा लैजानपर्छ ।”
त्यसबाहेक काँग्रेसको घोषणा पत्रअनुसार विकास निर्माणका कामलाई पनि प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाउँदै उनले महानगरभित्र बसोबास गर्ने भाडावालहरूलाई पनि सहज हुने गरी विज्ञहरू समेटिएको संयन्त्र बनाएर हरेक घरका कोठाको सर्भे गरेर भाडादर निर्धारण र भाडावालबाट कर उठाउने कार्य पनि व्यावस्थित बनाउने बताइन् ।
प्रकाश खड्गीको नजरमा उपमेयर हरिप्रभा
संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन सम्पन्न भए पनि कुन हिसाबले जनप्रतिनिधिले टिकट पाएका छन्, अहिले यसै भन्न सकिँदैन र विश्वास गर्नुहुन्न । त्यसमा पनि काठमाडौँ महानगरभित्रको कर्मचारीतन्त्र र भ्रष्ट्राचारले जेलिएको संयन्त्रका कारण विकासका काम गर्न गारो छ ।
प्रस्तुति : सिर्जना तिम्सिना

