काठमाडौँ, १३ जेठ ।
व्यवस्थापिका संसद्को अवरुद्ध भएको बैठक सुचारु गराउन प्रमुख तीन दलका शीर्ष नेताहरू सहमत भएका छन् ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको शीर्ष नेताहरूको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले उठाएको मागहरु संबोधन गर्ने सत्तारुढ दलको प्रतिबद्धतापछि एमाले संसदको अबरोध ओल्न सहमत भएको हो ।
बैठकमा वैशाख ३१ को पहिलो चरणको निर्वाचनमा विभिन्न ठाउँमा भएका धाँधलीबारे संसदीय छानबिन समिति गठन गर्न, प्रधानन्यायाधीशमाथि लगाइएको महाअभियोगको प्रस्ताव फिर्ता गर्न र टिकापुर घटनाका दोषीलाई उन्मुक्ति नदिन सत्तापक्ष सहमती भएको जनाईएको छ ।
बैठकमा सहभागी नेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्नो पार्टीको माग सम्बोधन गर्न सत्तापक्ष तयार भएकाले आजैदेखि संसद्को बैठक सुचारु हुने बताउनुभयो ।
उहाँले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने विषयमा पनि छलफल भएको बताउनुभयो ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दोस्रो चरणको स्थानीय निर्वाचन सुनिश्चित गराउन र सरकारको नीति तथा कार्यक्रम पारित गराउनलगायत विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच सहमति भएको जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सहमतिका साथ अघि बढ्ने समझदारी भएको थियो ।