काठमाडौ, १३ जेठ ।
नयाँ सरकार गठनका विषयमा छलफल गर्न प्रमुख तीन दलको बैठक अहिले बसिरहेको छ । सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले दिएको ७ दिनको समय सकिनै लाग्दा प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा दलहरु छलफलमा जुटेका हुन् ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षामा जारी बैठकमा प्रधानमन्त्री दाहालका साथै कांग्रेस सभापति शेरबहादुर देउवा र प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओली, नेता नारायण काजी श्रेष्ठ, रामचन्द्र पौडेल, कृष्ण सिटौला, माधव नेपाल, सुवास नेम्वाङ लगायतको सहभागीता रहेको छ ।
एमालेले राष्ट्रिय सरकार गठनका लागि प्रस्ताव गरेको भोलीपल्ट आज तीन दलका शिर्ष नेताको बैठक बस्न लागेको हो । बैठकमा संसदमा विपक्षी दलले गरिरहेको अवरोध खोल्ने विषयमा पनि छलफल हुनेछ ।
यसैबिच कांग्रेसले आजै राष्ट्रिय जनता पार्टीका नेताहरुसँग छलफल गर्दैछ । दोस्रो चरणको निर्वाचन बिथोल्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेपछि सहमतिमा ल्याउने पहल स्वरुप कांगेसले छलफल अघि बढाएको हो ।
बैठक केहीबेर पछि ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रिय कार्यालयमा बोलाइएको छ । यस्तै दोसा्र चरणको निर्वाचनका लागि उमेदवार छनोटका विषयमा छलफल गर्न आजै कांग्रेसका शिर्ष नेताको बैठक पनि बस्दैछ ।
तीन दिन यता लगातार छलफलमा रहेको कांग्रेसले प्रदेश नम्बर १ र ७ का धेरैजसो स्थानमा उम्मेद्वारको टुङगो लगाइसकेको छ भने बाँकी स्थानमा आज टुंगो लगाउने जनाएको छ ।