काठमाडौँ, ११ जेठ । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगन भएको छ ।
सदनको पहिलो बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आव २०७४÷०७५ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरु आआफ्नो आसनबाट उठेपछि सदनको बैठक शुक्रबार अपराह्न १ बजेसम्मका लागि स्थगन भएको हो । प्रमुख प्रतिपक्षी दलका सांसदहरु मौन रही आआफ्ना आसनबाट उठी उभिनुभएको थियो ।
सभामुख ओनसरी घर्तीले प्रमुख प्रतिपक्षी दलका सांसदहरु उभिनु भनेको सदनको बैठक अवरोध हुनु भएकाले त्यस्तो अवस्थामा बैठक सञ्चालन हुन नसक्ने वताउनुभयो । उहाँले प्रतिपक्षी दलका सांसदलाई आसन ग्रहण गर्न आग्रह गर्दै कार्यसूचीमा राष्ट्रपतिद्वारा सदनलाई गरिएको सम्बोधनका लागि धन्यवाद दिने रहेको जानकारी गराउनुभएको थियो ।
सदनको दोस्रो बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने र प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले व्यवस्थापिका–संसदको अधिवेशनमा राष्ट्रपतिद्वारा गरिएको सम्बोधनको प्रति टेबल गर्नुहुने कार्यसूची थियो । यसैगरी राष्ट्रपतिद्वारा व्यवस्थापिका –संसद्को अधिवेशनलाई गर्नुभएको सम्बोधनका लागि धन्यवाद ज्ञापन गर्ने प्रस्ताव थियो ।