काठमाण्डौ ,९ जेठ ।
प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा पुर्वाञ्चललाई ९ विकेटले पराजित गर्दै विभागीय टिम आर्मीले विजयी सूरुवात गरेको छ ।
उद्घाटन खेलमा १ सय ४ रनको सामान्य लक्ष्य आर्मीले १८ ओभरमा एक विकेट गुमाएर पुरा र्गयो ।
महेश क्षेत्री शुन्य रनमा पवेलियन फर्किएपनि त्यसपछि क्रिजमा आएका अनिल मण्डल र सागर पुनको जोडीले आर्मीको विजय यात्रा तय गरे ।
अनिल ५६ र सागर ४० रनमा नटआउट रहे । यसअघि कीर्तिपुरको त्रिवि मैदानमा टस जितेर व्याटिङ गरेको पूर्वाञ्चल ३२ ओभर ३ बलमा १ सय ३ रनमा समेटियो ।
महवुव आलमले ३६ रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहेन । पूर्वाञ्चललाई सस्तैमा समेट्न सागर पुनले ५, सुसन भारीले २ तथा सोमपाल कामीले दुई विकेट लिए ।
प्रतियोगिता अन्तर्गत भोली नेपाल पुलिस क्लब र सुदुर पश्चिमाञ्चलबीच प्रतिस्पर्धा हुनेछ ।
सर्वा्धिक पुरस्कार राशीको प्रतियोगितामा तीन विभागीय टोली सहित पाँच विकास क्षेत्रका टोली समावेश छन् । प्रतियोगिताका विजेताले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । सेमिफाइनल पुग्ने समूहले ५० हजार र लिगका खेल जित्ने समूहले प्रत्येक खेल जितेबापत २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगिताको म्यान अफ दि सिरिजले एकलाख तथा उत्कृष्ट ब्याट्स्म्यान र उत्कृष्ट बलरले ५०–५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।