काठमाण्डौ ,९ जेठ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजिनामा दिने या नदिने भन्ने अन्यौैलता कायमै छ । प्रधानमन्त्री दाहालले राजिनामा दिने घोषणा गरिसक्नुभएको छ । सोहि अनुरुप सत्तासाझेदार दल काग्रेसका सभापति शेरबहादुर देउवा पनि आफ्नै पार्टीका शिर्षस्थ नेता सरकारको नेतृत्व परिवर्तनको विपक्षमा रहेपछि नयाँ सरकार गठनको तयारीमा भित्र भित्रै जुट्नुभएको स्रोतको दाबी छ ।
दुई दलबीचको सहमतिअनुसार प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्न राजीनामा दिए पनि नयाँ प्रधानमन्त्री चयन गर्न त्यति सहज छैन । प्रचण्डको राजिनामा पछि बन्ने नयाँ सरकारको नेतृत्वका लागी हाल प्रतिपक्षमा रहेको एमाले पनि अघि सर्ने सम्भावना देखिन्छ ।
एमालेले पनि प्रधानमन्त्रीको उम्मेदवार अगाडि सारेमा बहुमतीय सरकार गठनको बाटोमा संसद् जानेछ । बहुमतीय प्रक्रियाबाट देउवा प्रधानमन्त्री बन्न दुई हप्ता समय लाग्नेछ ।
दाहालले राजिनामा दिए नयाँ सरकार गठनका दुई प्रक्रिया हुने छन् ।
प्रधानमन्त्री प्रचण्डले राजीनामा दिएसँगै उहाँको नेतृत्वको सरकार कामचलाउ सरकारमा परिणत हुनेछ । प्रधानमन्त्रीले राजीनामा दिएपछि अब राष्ट्रपतिले सबैभन्दा पहिले विगतको परम्परालाई समेत आधार मान्दै राजनीतिक दलहरूलाई राष्ट्रिय सहमतिको सरकार गठनका लागि सात दिनको समयसीमा दिई आह्वान गर्नुहुनेछ ।
सहमतिका आधारमा सरकार गठन हुन नसकेमा राष्ट्रपतिले बहुमतीय सरकार गठनको दोस्रो विकल्प प्रयोग गर्नुहुनेछ । सहमतीय सरकार गठनका लागि दिएको समयावधिमा कसैले पनि सरकार गठन गर्न नसकेमा राष्ट्रपतिले संसद्मा पत्र पठाउँदै बहुमतीय सरकार गठन गर्न पत्र लेख्नुहुनेछ । त्यसपछि बहुमतीय सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।
नयाँ प्रधानमन्त्री यसरी चुनिन्छन् ।
संसद्को नियमावली २०७३ को नियम ४९ अनुसार संसद्ले प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सुरु गर्नेछ । संविधानको धारा २९८ को उपधारा २ बमोजिम प्रधानमन्त्रीको निर्वाचन राजनीतिक सहमतिका आधारमा हुने, तर सहमति हुन नसकेमा सभामुखले तोकेको दिन र समयमा निर्वाचन प्रक्रियामार्फत बहुमतीय सरकार बन्ने उल्लेख छ ।
बहुमतीय आधारमा हुने निर्वाचन प्रक्रियाका लागि सभामुखले निर्वाचन कार्यतालिका तोक्दै संसद्का महासचिवलाई निर्वाचन अधिकृत तोकी प्रक्रिया अगाडि बढाउने प्रावधान छ ।
निर्धारित समयतालिकामा प्रधानमन्त्रीका उम्मेदवारले आफूलाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्दै एक–एकजना समर्थक–प्रस्तावक राखी उम्मेदवारी दर्ता गर्नुपर्ने हुन्छ ।
त्यसपछि संविधानको धारा २९८ को उपधारा ३ बमोजिम संसद्को तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतका आधारमा प्रधानमन्त्री निर्वाचित हुने व्यवस्था छ ।
सबैको आ आफ्नै दाउँ !
यसरी सरकार परिवर्तनको खेल सुरु भए आगामि जेठ ३१ गतेको दोस्रो चरणमा हुने स्थानीय तह निर्वाचनको तयारीमा समस्या पर्ने देखिएकोले प्रतिपक्षी दल एमाले र अब सरकारको नेतृत्वको दाबी गरिरहेको काग्रेसका शिर्ष नेताहरु पनि प्रचण्डको राजिनामाको विपक्षमा देखिएका छन् ।
तर सभापति देउवा भने स्थानिय तह निर्वाचन पछि सरकार परिवर्तन गर्दा एमालेले नेतृत्व हत्याउने हो कि भन्ने डरले तत्काल आफु नेतृत्वमा जान चाहेको उहाँ निकट स्रोतको दाबी छ ।
उता प्रधानमन्त्री प्रचण्डलाई राजिनामा घोषणा गर्दा काग्रेससँगको भद्रसहमती पनि नतोडिने र आचारसंहिताका कारण नयाँ प्रधानमन्त्री तत्काल चयन नहुने भएकाले आफैले कामचलाउ सरकारको रुपमा कार्य गर्न पाउने भएकाले राजिनामा दिन कुनै आनाकानी छैन ।
आगामि आर्थिक बर्षको बजेट पनि आफ्नै नेतृत्वको सरकारले ल्याउने प्रचण्डको तयारी छ ।