८ जेठ ,काठमाडौँ ।
नेकपा माओवादी केन्द्रले स्थानिय तहको निर्वाचनमा पार्टीले जितेका सबै स्थानमा जनसत्ता चलाउने जनाएको छ ।
पहिलो चरणको निर्वाचनको परिणाम आउँदै गर्दा माओवादी केन्द्रले पार्टीले जितेका सबै गाउँपालिकामा जनसत्ता चलाउने जनाएको हो ।
आज एक अनलाईनसँग कुरा गर्दै माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य तथा ऊर्जामन्त्री जनार्धन शर्मा प्रभाकरले भनेका छन् , ‘हामीले जितेका ठाउँमा जनसत्ता चलाउँछौँ, देशभर माओवादीले जितेका ठाउँलाई मोडेलको रुपमा विकास गर्ने छौँ ।’
माओवादी केन्द्र पहिलो पार्टी हुन नसन्नुको मुख्य कारण माओवादीमा आएको विभाजन रहेको बताउँदै प्रभाकरले भने, ‘माओवादीको हार वा तेस्रो स्थान माओवादीहरुबीचको फुट पहिलो र मुख्य कारण हो ।’ प्रभाकरले माओवादीमा विभाजन नआएको भए सबै स्थानीय तह जित्ने दाबी समेत गरे ।
पहिलो चरणको निर्वाचनको नतिजा सन्तोषजनक नभएको बताएका नेता प्रभाकरले माओवादीले जित्नु र अरुले जित्नुको फरक जनताले देख्ने गरी जितेका ठाउँमा काम गरेर देखाउँने बताए ।
लोडसेडिङ अन्त्य गरेर सफल मन्त्रीको परिचय बनाएका प्रभाकरले सत्ता सञ्चालनका राम्रा र नराम्रा सबै शिक्षालाई स्थानीय सत्ता सञ्चालनमा प्रयोग गर्ने बताए । उनले माओवादी केन्द्रले स्थानीय तहबाटै समाजवादी सत्ताको अभ्यास गर्ने बताए ।
