धादिङ,७ जेठ ।
धादिङको ज्वालामुखी गाउँपालिकामा नवनिर्वाचित गाउँपालिका अध्यक्ष विनोद तिमल्सिना लगायत नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुमाथी सांघातिक आक्रमण भएको छ ।
गाउँपालिकामा निर्वाचित भएपछि मैदीमा विजय उत्सव मनाएर साँझ खाना खाइरहेको बेलामा नेकपा एमालेका कार्यकर्ताहरुले घेरा हालेर अन्धाधुन्ध आक्रमण गर्दा गाउँपालिका नवनिर्वाचित अध्यक्ष विनोद तिमल्सिना लगायत स्थानीय दामोदर भट्ट, नेपाली कांग्रेस जिल्ला कमिटी सदस्य नरेन्द्र भट्ट, महासमिति सदस्य यमनाथ दनै लगायत नेपाली कांग्रेसका १ दर्जनभन्दा कार्यकर्ताहरु घाइते भएको नेपाली कांग्रेस धादिङका सभापति रमेश धमलाले जानकारी दिनुभयो ।
शनिबार राती ८ बजेतिर विजय उत्सव मनाएर खाजा खाइरहेको बेलामा आफूहरुमाथी एमालेको कार्यकर्ताहरुले अन्धाधुन्ध आक्रमण गरेको गाउँपालिका अध्यक्ष विनोद तिमल्सिनाले बताउनुभयो । घाइेतहरुलाई शनिबारै राती जिल्ला अस्पताल ल्याइएको थियो ।
घटनामा गम्भीर घाइते भएकाहरु २ जनालाई हिजै थप उपचारको लागि वीर अस्पताल स्थित ट्रमा सेन्टर रिफर गरिएको थियो । घटनाका प्रत्यक्षदर्शी शिव भट्टका अनुसार निर्वाचित अध्यक्षको स्वागतको लागि नेपाली कांग्रेस मैदीले बनाएको स्वागतद्वार नेकपा एमालेको कार्यकर्ताहरुको च्यात्न खोजेपछि विवाद उत्पन्न भएको थियो ।
ज्वालामुखी गाउँपालिकामा नेपाली काँग्रेसका विनोद तिमल्सीना अध्यक्षमा निर्वाचित हुनुभएको थियो भने उपप्रमुखमा नेकपा एमालकी जानुका सिंखडा विजयी हुुनुभएको थियो । शनिबार नेकपा एमालेको साँधभन्ज्याङमा विजय उत्सव थियो भने नेपाली कांग्रेसको मैदीमा विजय उत्सव थियो । साँधभन्ज्याङमा विजय उत्सव मनाएर मैदी फर्किएका एमालेका कार्यकर्ताहरुले पहिले आफूहरुमाथी आक्रमण भएपछि झडपको स्थिति उत्पन्न भएको आरोप लगाएका छन् ।
निर्वाचित जनप्रतिधिलाई नै आक्रमण गर्ने एमाले कार्यकर्ताको हर्कतलाई धादिङ काँग्रेसले जंगली व्यवहार भनेको छ । यसैबीच घटनाका दोषीहरुलाई पक्राउ गर्न माग गर्दे नेपाली काँङग्रेस धादिङले आज सदरमुकामका शिक्षण संघसस्था र बजार बन्द गराएको छ ।
आज बिहानैदेखी जिल्ला सदरमुकाम बन्द भएको र जिल्लामा थप हिंसा हुन नदिन नेकपा एमालेको जिल्ला स्थित पार्टी कार्यलय र सदरमुकामका चोक चोकहरुमा ब्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यलय धादिङका डिएसपी दिपेन्द्र पन्जियारले भन्नुभयो- ‘हामीले घटनाको विषयमा अनुसन्धान गरिरहेका छौ, दोषिलाई तत्काल पक्राउ गरि कानुनको दायरामा ल्याउछौँ ।’