काठमाडौ ६ जेठ ।
आगामी जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि आजबाट प्रक्रिया सुरु हुदैछ । निर्वाचन हुने ४१ जिल्लामा आजबाट प्रमुख निर्वाचन अधिकृत खटिने निर्वाचन आयोगले जनाएको छ ।
३१ वैशाखमा सम्पन्न भएको पहिलो चरणको निर्वाचनको सबै परिणाम आउन बाँकी छँदै आयोगले बाँकी रहेका प्रदेश नम्बर १, २ ५ र ७ का ४१ जिल्लामा निर्वाचन तयारी अघि बढाएको हो ।
मतपत्र ठूलो र एउटैमा धेरै पद समावेश भएकाले गणनामा ढिलाई भएपछि पहिलो चरणको निर्वाचनको सबै परिणाम आउनु अघि नै दोस्रो चरणको निर्वाचन प्रक्रिया सुरु गर्न लागिएको आयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।
दोस्रो चरणको निर्वाचनका लागि आगामी जेठ १५ सम्ममा ४१ जिल्लाका ४ सय ६१ वटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यलय स्थापना गर्ने आयोगले तयारी गरेको जनाएको छ ।
यस्तै १९ जेठमा पूर्वनिर्धारित कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने २२ जेठमा आयोगले उम्मेदवारी दर्ता गरेका उमेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्नेछ ।
त्यसपछि उमेदवारलाई चुनाव प्रचारप्रसारका लागि समय दिइनेछ । निर्वाचन आयोगले दोसो चरणको निर्वाचनमा स्वस्तिक छापमा प्रयोग हुने मसीको रङ परिवर्तन गर्ने तयारी गरेको छ ।
पहिलो चरणको निर्वाचनमा मतपत्रमा प्रयोग हुने रङ र स्वस्तिक छापमा प्रयोग हुने रङ एउटै हुँदा मत गणनामा असहज भएपछि दोसौ चरणमा स्वस्तिक चिन्हमा रातो मसी प्रयोग गर्ने तयारी गरेको जनाएको छ ।