४ जेठ,काठमाडौं । पहिलो चरणको स्थानीय चुनावमा रुकुम जिल्लामा माओवादी केन्द्रले पकड किल्ला कायम राखेको छ । कांग्रेस र एमाले कुनैले पनि यस जिल्लामा स्थान बनाउन सकेनन् । दुईटै ठूला दल नराम्ररी बढारिएका छन् ।
रुकुमका ३ नगरपालिका र ३ गाउँपालिका गरी सबै ६ वटै स्थानीय तहमा माओवादी केन्द्रका उम्मेदवारहरु विजयी भएका छन् । आठविसकोट, मुसिकोट र चौरजहारी नगरपालिका तथा सानीभेरी, बाँफिकोट र त्रिवेणी गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएको छ ।
आठविसकोटमा नपा प्रमुखमा माकेका गोरखबहादुर केसी र उपप्रमुखमा गीता नेपाली विजयी भएका छन् । यहाँका कुल १४ वडामध्ये ११ वडामा माके, २ वडामा कांग्रेस र एउटामा एमाले विजयी भएको छ ।
त्यसैगरी मुसिकोट नपा प्रमुखमा माकेकै देबीलाल गौतम र उपप्रमुखमा प्रेमकु्मारी सुनार विजयी भएका छन् । चौरजहारी नपा प्रमुखमा माकेकै विशाल शर्मा र उपप्रमुखमा राधा रोका विजयी भएका छन् ।
त्यस्तै त्रिवेणी गापा अध्यक्षमा माकेकै झक्कुप्रसाद घर्ती र उपाध्यक्षमा निर्मला विष्ट विजयी भएका छन् । बाँफिकोट गापा अध्यक्षमा माकेकै धर्मबहादुर केसी र उपाध्यक्षमा मनकला पुन विजयी भएका छन् । सानीभेरी गापा अध्यक्षमा माकेकै डोरबहादुर पुन र उपाध्यक्षमा इन्दिरा ओली निर्वाचित भएका छन् ।
रुकुमका बाँकी भुमे, पुथा उत्तरगंगा र सिस्ने गाउँपालिका भने पाँच नम्बर प्रदेशमा परेकोले जेठ ३१ गते दोस्रो चरणमा चुनाव हुँदैछ । यसमा पनि माकेले पूरै जित्ने दाबी गरिएको छ । रुकुम माओवादी केन्द्रका प्रभावशाली नेता एवं ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’का गृह जिल्ला हुन् ।
