एमाले स्थायी कमिटी : स्थानीय तहको सङ्ख्या थपघट अस्वीकार्य,निर्वाचनअघि संविधान संशोधन गर्न नहुने 

एमाले स्थायी कमिटी : स्थानीय तहको सङ्ख्या थपघट अस्वीकार्य,निर्वाचनअघि संविधान संशोधन गर्न नहुने 

  • बुधबार, जेष्ठ ३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौँ, ३ जेठ । सरकारले स्थानीय तहको सङ्ख्या पुनरवलोकनको तयारी गरेका बेला प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सङ्ख्या थपघट नगरी दोस्रो चरणको निर्वाचन गर्न पुनः माग गरेको छ ।

सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटी (ललितपुर) मा आज बसेको स्थायी कमिटीको बैठकले स्थानीय तहको सीमाङ्कन र नामाङ्कनसम्बन्धी प्रतिवेदनलाई स्वीकृत गरी पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेको वर्तमान अवस्थामा यही आधारमा अविलम्ब दोस्रो चरणको निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोग र सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो ।

सरकारले दोस्रो चरणको निर्वाचन गर्न तराई–मधेसका दलको निर्वाचनमा सहभागिता सुनिश्चित गर्न स्थानीय तहको सङ्ख्या पुनरवलोकनका लागि उपप्रधानमन्त्री एवम् स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको संयोजकत्वमा कार्यदल गठन गरेको छ । सो तयारीप्रति आपत्ति जनाउँदै एमाले केही दिन सदन अवरोध समेत गरेको थियो ।
गत वैशाख ३१ मा भएको पहिलो चरणको निर्वाचनपछि बिहीबार बस्ने व्यवस्थापिका–संसद्को बैठकमा एमालेले यो विषय पुनः उठाउने भएको बताइन्छ । पहिलो चरणमा ३, ४ र ६ नं प्रदेशको निर्वाचन भएको छ भने बाँकी चार प्रदेशका जिल्लामा यही जेठ ३१ का लागि निर्वाचनको मिति तोकिएको छ ।

एमाले बैठकको निर्णयमा भनिएको छ, “निर्वाचनका सम्पूर्ण तयारीका काम अन्तिम चरणमा पुगिसकेका अवस्थामा भ्रम र अन्योल उत्पन्न गर्ने गरी स्थानीय तहको सीमाङ्कन र सङ्ख्यालाई हेरफेर गर्ने कुरा स्वीकार्य नहुने पुनः स्पष्ट गर्दछौँ ।”

सत्तारुढ गठबन्धनका तर्फबाट परिणामलाई आफ्नो पक्षमा पार्न प्रहरी, प्रशासन र राज्यका कतिपय निकायलाई सरकारले दुरुपयोग गरेको भन्दै एमालेले खेद व्यक्त गरेको छ ।

दोलखा, सिन्धुपाल्चोक, धादिङ, काभे्र, रसुवा, हुम्ला, रुकुम, नुवाकोट, मकवानपुर, रामेछाप लगायतमा त्यस्ता घटना भएको भन्दै एमालेले ती घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न संसदीय छानबिन समिति गठन गर्नसमेत माग गरेको छ ।

“निर्वाचनका क्रममा भएका आपराधिक क्रियाकलाप र राज्यसत्ताको दुरुपयोगसमेत गरी निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने क्रियाकलापलाई गम्भीरताका साथ लिँदै आवश्यक कारबाही गर्न निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गर्दछ –” बैठकपछि पार्टीका सचिव एवम् प्रचार विभागका प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

एमालेले पहिलो चरणको निर्वाचनमा जनताको उत्साहजनक सहभागिता र आफ्नो हालसम्मको सफलताप्रति खुसी व्यक्त गर्दै आफ्ना प्रतिनिधिको चयनका लागि मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद ज्ञापन गरेको छ ।

स्थानीय तहको निर्वाचनले जनताका प्रतिनिधिद्वारा निर्मित नेपालको संविधानलाई जनअनुमोदित गर्नाका साथै संविधान कार्यान्वयनका निम्ति थप आधारसमेत प्रदान गरेको एमालेको ठहर छ ।

एमालेले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा पेस गरिएको महाअभियोग र संविधान संशोधन प्रस्ताव औचित्यहीन भएकाले तत्काल फिर्ता लिई संविधान कार्यान्वयन र तोकिएको समयमा तीनै तहको निर्वाचन सम्पन्न गर्ने काममा राजनीतिक समझदारी निर्माण गर्न सरकारसमक्ष माग गरेको छ ।

एमालेले मित्रराष्ट्र चीनको नेतृत्वमा सुरु गरिएको ‘वान बेल्ट ः वान रोड’ (ओबिओआर) परियोजनामा नेपालको सहभागिताका लागि अघिल्लो सरकारका पालामा थालनी गरिएको प्रयासको निरन्तरता स्वरुप दुई राष्ट्रबीच औपचारिक समझदारीपत्रमा हस्ताक्षर भएकाप्रति खुसी व्यक्त गरेको छ ।

यस परियोजनाले नेपालको आर्थिक विकासमा थप सहयोग पुग्नेछ र नेपाललाई अन्तर्राष्ट्रिय समुदायसम्म पुग्न सहयोग मिल्नेछ भन्ने विश्वास एमालेको छ ।

बैठकले अस्वस्थ भई उपचारका क्रममा रहनुभएका केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष केशव बडाल र पार्टी पोलिटब्युरो सदस्य अग्नि खरेलको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ