काठमाण्डौ ,१ जेठ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक साताभित्र आफूले पद त्याग्ने घोषणा गर्नु भएको छ ।
बालुवाटारमा आज राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्यसँग भएको भेटमा प्रधानमन्त्री प्रचण्डले एक साताभित्र आफूले व्यवस्थापिका संसदमा सम्बोधन गरेर पद त्याग गर्ने घोषणा गर्नु भएको हो ।
पद त्याग गर्ने घोषाणा गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न गरे, संविधान कार्यान्वयनको ढोका खोले, राष्ट्र र जनताका पक्षमा सत्तापक्ष र प्रतिपक्षले नसोचेको परिणाम हासिल गरे। अब तपाईँहरुले उठाएका माग सम्बोधन हुने गरी संविधान संशोधन गर्ने मेरो लक्ष्य र उद्देश्य छ,’।
आफ्ले पद त्याग गरेपनि वर्तमान सत्ता गठबन्धन कायमै रहने पनि उहाँले बताउनु भयो । कांग्रेस र माओवादी केन्द्रबीच गत साउनमा भएको भद्र सहमति अनुसार अब काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नु हुनेछ।
बैठकमा सहभागी राजपाका नेता राजकिशोर यादवले प्रधानमन्त्रीले हामीलाई एक साता भित्र पदबाट राजीनामा दिने र त्यस अगाडि नै हाम्रो माग सम्बोधन हुनेगरी संविधान संशोधन गराउने बताउनु भएको जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड सहित राजपाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, महेन्द्रप्रसाद यादव, राजकिशोर यादव र अनिलकुमार झा सहभागी हुनुहुन्थ्यो।