काठमाडौ १ जेठ ।
स्पेनिस ला लिगा फुटबलको उपाधि होड लिगको अन्तिम तिर आइपुग्दा थप रोमाञ्चक बनेको छ । लिग अन्तर्गत गएराति भएका खेलमा शीर्ष स्थानका बार्सिलोना र रियल मड्रिड दुवैले प्रभावशाली जित दर्ता गरेपछि उपाधि होड थप रोमाञ्चक बनेको हो ।
घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले सेभिल्लालाई ४–१ ले हरायो । रियलको जितमा क्रिष्टियानो रोनाल्डोले दुई तथा नाचो तथा टोनी क्रसले एक एक गोल गरे भने सेभिल्लाका लागि जोभेटिकले ४९ औं मिनेटमा एक गोल फर्काए ।
जितपछि दोस्रो स्थानको रियलको लिगका दुई खेल बाँकी हुँदा ८७ अंक भएको छ । शीर्ष स्थानको बार्सिलोनाको लिगको एक खेल बाँकी हुँदा ८७ अंक भएको छ । रियल अहिले दोस्रो स्थानमा छ ।
राति भएका अरु खेलमा एथ्लेटिको मड्रिड र रियल बेटिस तथा एथ्लेटिको बिल्बाओ र लेगानेसले १–१ को बराबरी खेले । यस्तै रियल सोसिडाड र मालागाले २–२ तथा भिल्लारियल र डिप्रोटिभो डी लाकोरुनाले गोल रहित बराबरी खेलेका छन् ।