बैशाख ३१ काठमाडौं ।
स्थानीय तह निर्वाचन अन्तरगत पहिलो चरणमा आज तीन वटा प्रदेशका २ सय ८१ वटा स्थानीय तहमा निर्वाचन भएको छ । दोलखा, काभ्रे, रामेछाप, हुम्ला, दैलेखमा केही केन्द्रमा केही तनाव भएको छ । अन्य स्थानमा भने चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।
आज बिहान ७ बजेबाट सुरु भएको निर्वाचनको मतदान प्रक्रिया साँझ ५ बजे सकिएको हो । मतपेटिकाहरु राष्ट्रिय सभागृहमा लगिँदै छ । तर मत आजै गन्ने नगन्ने भन्ने बारे टुंगो लाग्न सकेको छैन ।
मतपेटिकाहरु एकै ठाएँमा जम्मा पारिसकेपछि को को कर्मचारी खटाउने र दलहरुसँगको समन्वयमा मत गणना आजै गन्ने वा भोलि गन्ने भन्ने बारे निर्णय गरिने निर्वाचन आयोगले जनाएको छ ।
मतदानमा सहभागी भएकै कर्मचारीहरु खटाउने वा अन्य कर्मचारी खटाउने लगायतका बारेमा छलफल गरी टुंगो लागेपछि मात्रै मत गनिने भएकाले अहिले नै यसै भन्न सकिने अवस्था नहरेको आयोगले जनाएको छ ।
मत गणना गर्दा खटिएका कर्मचारीले मतपत्र खन्याएर उपस्थित प्रतिनिधिलाई देखाउँछन् । र बदर भएको मतपत्र छुट्याएर सदर मतको गणना गर्छन् । मत गणना सुरु भएपछि बिचमा राक्न नपाइने व्यवस्था छ । मत गणना सकिएपछि सदर मतपत्र र बदर मतपत्र दुबै सिलबन्दी गर्नुपर्ने नियम छ ।
तर केहि ढिला गरी मतदान सुरु भएको तथा बिबादका कारण केहिबेर स्थगित भएका मतदान केन्द्रमा भने मतदानको समय सकिएपनि बाकी रहेका मतदाताले मतदान गरिरहेको निर्वाचन आयोगले जनाएको छ ।लाईनमा मत हाल्न बसेका मतदातालाई मत हाल्न दिने निर्णय गरेपछि केहि विर्वाचन केन्द्रहरुमा भने निर्वाचन चलिरहेको आयोगको भनाई छ । आज प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लामा भएको निर्वाचनमा झडपका कारण स्थगित भएर पुनः मतदान सुचारु भएका मतदान केन्द्रमा भने मतदान जारी रहको अयोगका प्रवक्ता सुर्यप्रसाद शर्माले बताउनु भयो ।
यसअघि २८३ वटा स्थानीय तहमा मतदान गर्ने कार्यक्रम रहेपनि दुईवटा स्थानीय तहमा पदाधिकारी निर्विरोध चयन भइसकेकाले आज २८१ तहमा मात्रै मतदान भएको हो ।
केही केन्द्र बाहेकका मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको प्रवक्ता शर्माले जानकारी दिनुभयो । पहिलो चरणमा निर्वाचित हुने तीन वटा प्रदेशका १३ हजार ५ सय ५६ पदका लागि निर्वाचन सुरु भएको हो ।
चार महानगर, एक उपमहानगर, ९२ नगरपालिका र १८६ गाउँपालिकामा नयाँ नेतृत्व चयनका लागि ६ हजार ६ सय ४२ मतदान केन्द्र तोकिएका छन् । निर्वाचनमा तीन वटा प्रदेशका ४९ लाख ५६ हजार ९ सय २५ मतदाता सहभागी हुने आयोगले जनाएको छ ।
३ सय २९ जना भने यसअघि नै निर्विरोध चयन भइसकेका छन् । निर्वाचन भएका सबै जिल्लाहरुको पुर्ण विवरण आयोगको केन्द्रिय कार्यलयमा आईनसकेको आयोगले जनाएके छ । पुर्ण विवरण आएपछि आयोगले पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराउने प्रवत्ता शर्माले बताउनु भयो ।
मतदान सकिएका केन्द्रहरुमा अहिले मुचुल्का गरेर मतपेटिका स्थानीय तहको केन्द्रमा लिने क्रमसमेत शुरु भएको छ । त्यस लगत्तै आजै मतगणना कार्य सुरु हुने आयोगका प्रवत्ता शर्माले जानकारी दिनुभयो ।
आजै रातिदेखि सम्भव हुने गाउँपालिका र नगरपालिकाको मत गणना हुने प्रवक्ता शर्माले बताउनु भयो ।
यसैविच मतदान समय सकिएसँगै उपत्यकाका दुई महानगरपालिका काठमाडौं र ललितपुरमा आजै मतगणना सुरु हुने भएको छ ।
जिल्ला निर्वाचन अधिकृतहरुले दिएको जानकारी अनुसार भक्तपुरका चारै नगरपालिकामा पनि आजै खमतगणना सुरु गर्ने तयारी भइरहेको छ ।
मतदान सम्पन्न भएपछि प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका संकलन गर्ने र गणना सुरु गरिने ललितपुरका प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले जानकारी दिनुभयो।
त्यस्तै काठमाडौं महानगरपालिकाले आजै बेलुकाबाट मतगणना सुरु गर्ने तयारी स्वरुप निर्वाचन आयोगले मतगणनाका लागि ११ बुँदे निर्देशन समेत जारी गरेको छ ।
जसअनुसार वडाको मतगणना सकिएपछि वडाध्यक्ष, महिला सदस्य, दलित सदस्य र खुला सदस्यको परिणाम सार्वजनिक गर्ने र अर्को वडाको गणना सुरु हुनेछ ।