दोलखा , ३१ बैशाख ।
दोलखाको मेलुङ गाउँपालिकामा काग्रेस र एमालेका कार्यकर्ताबीचको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
प्रहरीको गोली लागेर अर्का एक जना गम्भीर घाइते भएका छन्।
काँग्रेस र एमालेका कार्यकर्ताबीच भएको झडपलाई नियन्त्रणमा लिन गोली चलाउँदा मेलुङका नकुल भुजेलको मृत्यु भएको हो।
एमाले कार्यकर्ताले फर्जी मत हाल्न खोजेपछि काँग्रेसका कार्यकर्ताले रोक्न खोज्दा झडप भएको बताईएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
झडपपछि सो क्षेत्र तनाबग्रस्त बनेको छ । घटनापछि एमाले कार्यकर्ताहरु त्यहाँबाट हिडेका छन् भने काँग्रेसका कार्यकर्ता नारावाजी गरिरहेका छन्।
मतदान केन्द्रलाई कब्जा गर्न खोजेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ । घटनापछि सो मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।
मेलुङमा काँग्रेस र माओवादी केन्द्रबीच गठबन्धन छ भने एमाले एकल चुनावी प्रतिस्पर्धामा छ।
यसअघि बैतेश्वर गाउँपालिकाको वडा नम्बर २ मा एमालेका कार्यकर्ताको खुकुरी प्रहारबाट आठ जना काँग्रेस कार्यकर्ता घाइते भएका छन । गम्भीर घाइते एक जनालाई थप उपचारका लागि चरिकोटस्थित जिल्ला अस्पताल पुरयाइएको छ ।
तामाकोशी गाउँपालिका वडा नम्बर २ मा एमाले कार्यकर्ताको खुकुरी प्रहारबाट काँग्रेस कार्यकर्ता अच्युत कार्की गम्भीर घाइते भएका छन । काँग्रेसका कार्यकर्ताको कुटपिटबाट दुई जना एमाले कार्यकर्ता घाइते भएका छन ।
तामाकोशी गाउँपालिका वडा नम्बर ५ स्थित सहरेमा प्रहरीले गोली चलाउँदा महिला लिला खडका घाइते भएकी छन । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराका अनुसार तनावलाई नियन्त्रणमा लिन हवाइ फायर गरिएको हो ।