दिनभरी भोट माग्न ब्यस्त उम्मेदवार र कार्यकर्ता साझ परेपछि भट्टीमा !

दिनभरी भोट माग्न ब्यस्त उम्मेदवार र कार्यकर्ता साझ परेपछि भट्टीमा !

  • बुधबार, बैशाख २७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौँ,वैशाख २७। दिनभरि भोट माग्न व्यस्त हुने उम्मेदवारसँगै अधिकांश दलका कार्यकर्ता साँझ परेपछि सहरका स–साना भट्टी छिर्छन् । अलिक पैसा हुने र उपल्लो तहका कार्यकर्ता भने गतिला र राम्रा रेस्टुरेन्ट पस्छन् । सिन्धुपाल्चोक, रामेछाप र सिन्धुलीका सदरमुकाम तथा स्थानीय स–साना बजार पछिल्ला दिन यिनै ग्राहकले गुल्जार छन् । स्थानीय होटल व्यवसायीका अनुसार चुनावको दिन नजिकिँदै जाँदा मदिराको खपत ह्वात्तै बढेको छ । मदिरा डिलर सञ्चालक भन्छन्, ‘मागअनुसार पुर्‍याउनै हम्मे छ ।’

चौतारा साँगाचोकगढी नगरपालिकामा मात्रै मदिरा बेच्ने २४ वटा होटल छन् भने सातवटा मदिराका डिलर । त्यस्तै बाह्रबिसे नगरपालिकामा चार र मेलम्चीमा मदिराका आठ वितरक छन् । स्थानीय व्यवसायीका अनुसार पछिल्ला दिन प्रमुख तीन नगरपालिकामा मदिरा जस्ता पेय पदार्थको बिक्री बढेको छ । कतिसम्म भने माघ अन्तिम सातायता विभिन्न दलले मदिराजन्य पदार्थ खरिद गर्न होटलदेखि वितरक केन्द्र नै तोकेका छन् । चौतारा साँगाचोकगढी नगरपालिकाको चौतारा बजारमा होटल गौरीशंकरका सञ्चालक अर्जुन सापकोटा भन्छन्, ‘वैशाख सुरु भएसँगै मदिराको बिक्री तेब्बर बढेको छ ।’

होटल गौरीशंकर एन्ड ड्रिंक्सले गत चैतमा ३० हजार रुपैयाँबराबरको मदिरा बेचेको थियो तर वैशाखको तीन साताभित्रै ८० हजार रुपैयाँको मदिरा कारोबार गरिसकेको छ । मदिराका वितरकसमेत रहेका सञ्चालक सापकोटाका अनुसार मदिरा खपत सहरभन्दा गाउँमा धेरै छ । उनले भने, ‘चैतमा ५० कार्टुन मदिरा बेचेको थिएँ, वैशाखमा भने २ सय कार्टुन बेचिसकें ।’ सिन्धुपाल्चोक गेस्ट हाउस एन्ड ड्रिंक्स वितरकका प्रोपाइटर सुवास पुरीले पनि चुनावी चहलपहल सुरु भएपछि धेरै मदिरा बेचिसके ।

चैतमा २७ हजारको मदिरा बेचेका उनले वैशाखयता भने ८० हजार रुपैयाँबराबरको बेचिसके । चौतारामा रहेको चौतारा नास्ता सेन्टरबाट पनि वैशाखमा अघिल्लो महिनाभन्दा दोब्बर मदिरा बिकिसक्यो । प्रोपाइटर कृष्णमान श्रेष्ठका अनुसार चैतमा २७ हजारको बेचेकोमा वैशाखयता ६० हजार नाघिसक्यो । शेर्पा होटलको कारोबार पनि उस्तै छ । प्रोपाइटर रिना शेर्पाका अनुसार मदिरा कारोबार चैतमा ३० हजारबराबर रहेकामा वैशाखको तीन सातामै ८० हजार पुगिसक्यो ।

बोल्ड ड्रिंक्सका प्रोपाइटर लक्ष्मी श्रेष्ठका अनुसार दलहरू गाउँमुखी प्रचार अभियानमा सक्रिय भएका कारण सहरभन्दा गाउँका खुद्रा पसल र स–साना होटलले सामान्य दिनभन्दा तेब्बर बढी मदिराजन्य पदार्थ किनेर लगेका छन् । उनले हाँस्दै भनिन्, ‘दलले पार्टीगत रूपमै मदिरा केन्द्र र होटल तोकेका छन् ।’

सदरमुकाम आसपासका घलेगाउँ, गौराती, स्याउले, कुभिन्डे, चतुरेगाउँका सानातिना होटलमा मदिरालगायत पेय पदार्थको व्यापार हवात्तै बढेको व्यवसायीको भनाइ छ । सदरमुकाममा सातवटासम्म मदिरा वितरक भए पनि चार जनाले मात्रै लाइसेन्स लिएका छन् । रामेछाप सदरमुकाम मन्थली सहर उति ठूलो होइन तर पनि यहाँ चुनाव लागेपछि मदिरा खपत हवात्तै बढेको छ । स्थानीयका अनुसार दिनभर भोट माग्न गाउँ पसेका उम्मेदवार र अगुवा कार्यकर्ता साँझ परेपछि सहरका सुविधासम्पन्न र मदिरा पाइने होटल–लजमा बस्न पुग्छन् ।

मन्थलीका एक होलसेल मदिरा विक्रेताका अनुसार माघ महिनामा उनले ६ लाख रुपैयाँ बराबरको मदिरा बेचेका थिए । यो परिमाण वैशाखका तीन सातामै दोब्बर भइसक्यो । वैशाख लागेयता मात्रै १२ लाख ७७ हजारको मदिरा बेचिसकेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय मन्थलीका अनुसार गाउँघरमा घरेलु मदिरा बिक्रीको मात्रा पनि उत्तिकै बढेको छ । केही दलले त गाउँमा कार्यकर्तालाई मदिरा खुवाउन भट्टी नै सञ्चालनमा ल्याएका छन् । प्रहरीले गाउँबाट सदरमुकाम बिक्रीका निम्ति ल्याइँदै गरेको झन्डै ११ सय लिटर घरेलु मदिरा बरामद गरिसकेको छ ।

सिन्धुलीमा पनि मदिराका प्रमुख विक्रेतालाई माग धान्न नसकेर हैरानी छ । जिल्लामा मदिराका मुख्य तीन डिलर छन् । तिनका अनुसार वैशाख २४ गतेसम्म मात्रै २ करोड ४५ लाख रुपैयाँभन्दा धेरैको कारोबार भइसक्यो । खुला रूपमा स–साना पसलेले र बाह्य जिल्लाबाट आफ्नै स्रोतबाट ल्याएर बेच्नेहरूको हिसाबसमेत जोड्ने हो भने यो कारोबार झन् धेरै हुन्छ ।

कनिष्का ट्ेरडर्सले चैतमा मात्रै एक करोड रुपैयाँबराबरको मदिरा बेचेको थियो । तर, वैशाख २४ गतेसम्म कारोबार उकालो लागेर १ करोड १० लाख पुगिसक्यो । नवदुर्गा ट्रेडर्सले चैतमा ७० लाखको मदिरा बेचेकोमा वैशाख २४ सम्म थप ८५ लाख रुपैयाँको बेचिसक्यो । उद्योग वाणिज्य संघ सिन्धुलीका अध्यक्षसमेत रहेका ट्ेरडर्स सञ्चालक दिनेशकुमार श्रेष्ठका अनुसार वैशाखभरिमा एक करोडभन्दा धेरैको मदिरा बिक्री हुने देखिन्छ । उनले भने, ‘चुनाव नजिकिँदै गर्दा मदिराको माग पनि बढदै छ, पुर्‍याउनै गाह्रो भएको छ ।’

सीता मार्केटिङ जिल्लाको अर्को ठूलो मदिरा डिलर हो । यसका प्रमुख लेखापाल उद्धव मगरका अनुसार चुनाव घोषणासँगै जिल्लाका स–साना उपडिलरले अरू बेलाभन्दा दोब्बर मदिरा ‘स्टोर’ गरेका थिए । अरू महिना औसत ५० लाखको मदिरा बेच्ने ट्रेडर्सले चैतमा मात्रै १ करोड १० लाख बेचेको थियो । वैशाख २४ सम्म थप ६० लाखको बिक्री भइसकेको मगरले जानकारी दिए । उनका अनुसार सहरमा भन्दा गाउँमा माग उच्च छ । ‘धेरैजसो उपडिलरले चुनावमा धेरै मदिरा बिक्री हुन्छ भनेर चैतमै स्टोर गरेका हुन्,’ उनले भने ।– कान्तिपुर दैनिकबाट 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ