दोलखा, बैशाख २७ ।
दोलखाको गौरीशंकर गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ । गएराति करिब ११ बजेतिर भएको झडपमा एमाले कार्यकर्ता कुलबहादुर तामाङको मृत्यु भएको हो ।
उनका बुवा स्थानीय तह चुनावमा खुलाबाट वडा सदस्यको पदमा उम्मेदवार हुनुहुन्छ । एमाले कार्यकर्ता बास बसेको ठाउँमा माओवादीका कार्यकर्ताले आक्रमण गर्दा घटना भएको स्थानीयबासिन्दाले बताएका छन् ।
झडपमा जुगु निलकण्ठेश्वर माविका शिक्षकसमेत रहेका गौरीशंकर गाउँपालिका–२ का दिलबहादुर बुढाथोकी घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेकाले उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।
झडपपछि एमाले कार्यकर्ताले प्रयोग गरेका तीन वटा मोटरसाइकल र एउटा बोलेरो जीपमा समेत आगो लगाइएको छ । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले केहीलाई पक्राउ गरेको छ ।