काठमाडौं, बैशाख २७ ।
युभेन्टस् च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा मोनाकोलाई २–१ ले हराउँदै समग्रमा ४–१ को जित सहित युभेन्ट्स उपाधि नजिक पुगेको हो ।
पहिलो लेगमा पनि युभेन्ट्सले मोनाकोलाई उसकै घरेलु मैदानमा २–० ले हराएको थियो । घरेलु मैदानमा भएको खेलमा युभेन्टस्लाई जिताउन मारिओ मान्जुकी र डानी एल्भेसले गोल गरेका हुन् ।
मोनाकोका लागि केलिएन एमबाप्पेले एक गोल फर्काए । युभेन्टस पछिल्लो तीन सिजनमा दोस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको हो । युभेन्टसले पछिल्लो पटक सन् १९९६ मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।
युभेन्टसले आगामी जुन ३ मा हुने फाइनलमा रियल मड्रिड वा एथ्लेटिको मड्रिडसँग खेल्ने छ । रियल र एथ्लेटिको मड्रिडबीचको दोस्रो सेमिफाइनल लेग आज राति हुँदै छ । पहिलो लेगमा भने रियल मड्रिड ३(० ले विजयी भएको थियो ।