काठमाण्डौ ,२६ बैशाख ।
संविधान संशोधन नगरी निर्वाचनमा नजाने अडानमा रहेको राष्ट्रिय जनता पार्टी नेतृत्वको संघीय गठबन्धन र तीन दलबीचको बैठक विना निष्कर्ष टुंगिएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज बिहान बसेको बैठकमा गठबन्धनका नेताहरुले संविधान संशोधन नभईकन निर्वाचनमा सहभागी नहुने अडान राखेपछि बिना निष्कर्ष टुंगिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा प्रमूख राजनीतिक दलहरु नेपाली कांग्रेस,नेकपा (एमाले),माओवादी केन्द्र र राजपाका नेताहरुको बीचको बैठक बसेको थियो ।
बैठकमा सरकारद्धारा संसदमा दर्ता गरेको संविधान संशोधन विद्ययेक, दोस्रो चरणको स्थानीय तहको निर्वाचन र मधेशमा स्थानीय तहको संख्या थपबारे कुराकानी भएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन विधेयक पारित गराउन सरकारको तर्फबाट पहल भइरहेको जानकारी दिँदै स्थानीय तहको निर्वाचन सफल बनाउन दलहरु थप एकतावद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा राजपाका नेताहरुले संविधान संशोधन विधेयक पारित गरेर निर्वाचनमा सहभागी हुने वातावरण बनाउन आग्रह गर्नुभएको थियो भने प्रमुख तीन राजनीतिक दलका नेताहरुले राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गरेर संघीय गठबन्धनमा आवद्ध दलहरुलाई पनि निर्वाचनमा ल्याउन आफूहरुले थप छलफल गर्ने बताउनु भएको थियो ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले उपाध्यक्ष बामदेव गौतम, गृहमन्त्री बिमलेन्द्र निधि, राजपाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अनिल झा लगायतका शीर्ष नेताहरुको उपस्थिति रहेको थियो ।